ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति

सोमबार ०३, मङि्सर २०८१ ०१:२९

एजेन्सी । संयुक्त राज्य अमेरिका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई प्रदान गरेका छन् । आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका बाइडनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न किएभलाई अनुमति दिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले जनाएको छ ।

लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो । यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए । यस्ता अस्त्रको प्रयोगले युद्ध चर्किने सम्भावनालाई दृष्टिगत गर्दै वाशिङ्टनले यसअघि प्रयोग नगर्न भनेको थियो । 

ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहयोग उपलब्ध नगराउने अनुमान गरिएको छ । तर उनले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभन्दा दुई महिनाअघि बाइडन प्रशासनले आफ्नो नीति उल्ट्याउँदै अस्त्र प्रयोगको अनुमति दिएको हो । यसलाई अमेरिकी नीतिमा ठूलो परिवर्तन मानिएको छ ।

युक्रेनले रुसी नियन्त्रणमा पुगेका युक्रेनी भूभागमा रहेका रुसी सैन्य संरचनामा आक्रमण गर्न मात्रै एटीएसीएमएस प्रयोग गर्दै आएको थियो । क्राइमियास्थित रुसी वायुसेनाको शिविर र जापोरिज्या क्षेत्रमा आक्रमण गर्न ती क्षेप्यास्त्रहरू प्रहार भएका थिए । 

युक्रेनलाई उपलब्ध गराइएका सबैभन्दा शक्तिशाली क्षेप्यास्त्रमा लकहीड मार्टिन बलिस्टिक मिसाइल पनि पर्छ। यो अमेरिकी बलिस्टिक क्षेप्यास्त्र ३०० किलोमिटर टाढाको दूरीसम्म प्रहार गर्न सक्ने बताइएको छ ।

युक्रेनले यस्ता क्षेप्यास्त्रको प्रयोगका लागि अनुमति नदिनु “एउटा हात पछाडि बाँधेर युद्ध लड्न पठाउनु जस्तै“ भएको बताएको थियो । हालै उत्तर कोरियाली सैनिकहरू रुसी फौजलाई सघाउन कुर्स्क क्षेत्रमा पुगेको विवरण आएपछि अमेरिकाले आफ्नो नीतिमा परिवर्तन गरेको बताइएको छ । यसको प्रयोगबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले केही बताएका छैनन् । तर उनले आइतवार “शब्दमा बोलेर प्रहार गरिने नभई क्षेप्यास्त्र आफैँले बोल्ने” बताएका छन् ।
 

प्रतिक्रिया