काठमाडौँ । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा शुक्रबार आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् ।
हिन्दु धर्मको संरक्षण र संवर्द्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरूलाई यो अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरू एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, भारतका प्रसिद्ध समाजसेवी भगवान गंगाराम पाण्डे, भारतका प्रसिद्ध समाजसेवी राजश्री बिरला, श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राईलगायत छन् ।
विश्व हिन्दु महासङ्घले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गर्ने गर्दछ ।
कार्यक्रममा पूर्वमन्त्री आलेले आफूलाई अवार्ड प्रदान गरिएकामा खुसी प्रकट गर्दै आगामी दिनमा पनि हिन्दु सनातन धर्मको रक्षा तथा संवर्द्धनमा लागिपर्ने बताए ।
प्रतिक्रिया