धनगढी । सुदूरपश्चिमका तीन जिल्लाबाट अवैध भन्सार छलीको सामान बरामद गरिएको छ । कैलाली, कञ्चनपुर र बैतडीका विभिन्न स्थानबाट भन्सार छलीको सामान बरामद गरिएको हो ।
शनिबार धनगढी उपमहानगरपालिका-९ त्रीवेणीघाट, धनगढीगाउँ, जोशीपुर गाउँपालिका-१ स्याउले, पिपरकोटी, कैलारी गाउँपालिका-४ भितरीया मिलन सामुदायिक वन र “के” गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ८६ हजार ८८० मूल्यको सामान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सो मूल्यका चिनी, बिडी, सुर्ती, दुध पाउडर, फलामको साङ्लो, चप्पल, जुत्ता, मोजा, डोरी, भुजा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।
त्यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ लालझाडीस्थित लालझाडी जंगल र बेलौरी नगरपालिका-१० भुडाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ३८ हजार ३६५ मूल्यको बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
शनिबार नै बैतडीको दशरथचन्द नगरपालिका-१० अदारीपिण्डबाट भन्सार छली ल्याएका अन्दाजी ६२, हजार ६२५ मूल्यको चिनी, मिश्री, दाल, खाने तेल, सरप, नरिवल, जिरा, चियापत्ती, पिठो, सुर्ती, साबुन, बदाम, प्लाष्टिक झिल्ली लगायतका सामान प्रहरी चौकी बाराकोट, बैतडीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय झुलाघाट, बैतडी पठाएको जनाएको छ ।
प्रतिक्रिया