धनगढी । कैलाली र कञ्चनपुरमा साढे ११ लाख बढीको अवैध सामान फेला परेको छ । प्रहरीले दुबै जिल्लाका विभिन्न स्थानमा ११ लाख ५१ हजार ९५० मूल्य बराबरको भन्सार छलीको सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
आइतबार धनगढी उपमहानगरपालिका-२ बालुवाघाट, शिसा पोष्ट, त्रिनगर ब्यारेल, धनगढी-३ ट्राफिक चौराह र गोदावरी नगरपालिका-१ पूर्व रोडबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख १४ हजार ५० मूल्यको प्याज, चिनी, बिडी, सुर्ती, सरप, मोबाइलका डिस्प्ले, गाडीका पार्ट्स, ज्याकेट, कोट, सुट पिस, ट्रेकसुट, क्रिम लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेल नजिक र भीमदत्त-११ भुजेलामा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८ लाख ३७ हजार ९ सय मूल्यको पित्तल र कासोका जस्ता देखिने भाँडाहरु, घण्टी, मोजा, प्लाष्टिक झिल्ली, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया