धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मंगलबार गेटा अस्पताल अनुुगमनका क्रममा प्रष्ट शब्दमा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालन हुन कठिन हुने बताए । ‘विधेयक बन्दैमा गेटामा विश्वविद्यालय सञ्चालन हुन सक्दैन,’ मन्त्री पौडेलले भने, ‘विश्वविद्यालय निर्माणको कुरामा कसैको असहमति छैन । तर विश्वविद्यालय बन्न आफ्नै प्रकृया छन् । लागत अत्यधिक छ । आर्थिक स्रोत, मानव संसाधनलगायत पूर्वाधार आवश्यक हुन्छ । समय लाग्छ ।’
ठिक एक वर्षअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए, मोहन बस्नेत । ०८० पुस १६ गते धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका थिए, ‘पहिला अस्पताल त राम्ररी चलाउनुस् । मेडिकल कलेज, विश्वविद्यालय त पछि हुदै गर्ला ।’
एक वर्षअघि र अहिलेका स्वास्थ्यमन्त्री दुुबै जना नेपाली कांग्रेसबाटै मन्त्री भएका भए पनि उनीहरुको कार्यशैली र इच्छाशक्तिबीच धेरै नै भिन्नता देखिन्छ । त्यस बेलाका मन्त्री बस्नेतले नवीन काम गर्नु त परको कुरा आफ्नो कार्यकाल स्वच्छ पनि राख्न सकेका थिएनन् ।
हालका मन्त्री पौडेल धेरैका लागि आशा जगाउने मन्त्रीका रुपमा आफ्नो परिचय बनाइरहेका छन् । अहिलेको मन्त्रिपरिषद्का सदस्यमध्ये पौडेले स्वास्थ्य क्षेत्र सुधारका क्षेत्रमा गरिरहेका प्रयासको धेरैले प्रशंसा पनि गरिरहेका छन् ।
तर, गेटाको हकमा भने उनीहरु दुुबै जनाको प्रतिक्रिया लगभग समान देखिएको छ । मंगलबार गेटा अस्पतालको अनुुगमन भ्रमणका क्रममा मन्त्री पौडेलले दिएको प्रतिक्रियाअनुसार तत्काल गेटामा चिकित्सा स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने कुुनै गुुञ्जायस देखिन्न ।
मन्त्री पौडेलले मंगलबार गेटा अस्पताल अनुुगमनका क्रममा प्रष्ट शब्दमा विश्वविद्यालय तत्काल सञ्चालन हुन कठिन हुने बताए । ‘कानुनी प्रक्रिया पूरा हुँदैमा मात्र गेटामा विश्वविद्यालय सञ्चालन हुन सक्दैन,’ मन्त्री पौडेलले भनेका थिए, ‘विश्वविद्यालय निर्माणको कुरामा कसैको असहमति छैन । तर विश्वविद्यालय बन्न आफ्नै प्रकृया छन् । लागत अत्यधिक छ ।’
मन्त्रीले नै यति भनिसकेपछि तत्काल विश्वविद्यालय बन्न छाटकाट भने देखिन्न । हाल संसदीय समितिमा विचाराधीन रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भए पनि तत्काल गेटामा विश्वविद्यालय बन्न नसक्ने देखिएको हो । प्रतिनिधिसभाबाट यसैवर्ष विधेयक पारित भइहाल्यो र सरकारले तदारुकताका साथ अन्य प्रकृया अघि बढायो भने पनि विश्वविद्यालय स्थापना भएर सञ्चालनमा आउन कम्तिमा तीनदेखि पाँच वर्ष लाग्ने विज्ञहरु बताउँछन् ।
२९ माघ २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञानसम्बन्धी विशिष्टिकृत विश्वविद्यालयको रूपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, अहिले त्यहाँ ५० शय्याको अस्पताल मात्रै सञ्चालन छ ।
प्रतिक्रिया