ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुरका उपमेयर पनि दोषी ठहर, पद के हुन्छ ?

शुक्रबार २६, पुष २०८१ १०:४९

धनगढी । विशेष अदालतले कैलालीको टीकापुर जग्गा अनियमितता मुद्दामा ८७ जनालाई दोषी ठहर गरेको छ । अदालतले पदाधिकारी र कर्मचारीसमेत ११ जना तथा जग्गा खरिद गर्ने ७६ जना गरी ८७ जनालाई दोषी ठहर गरेको हो । 
दोषी ठहर हुनेमा टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह पनि छन् । शाहलाई तीन महिना कैद र १३ लाख सात हजार जरिवाना तोकिएको छ । उनलाई यसअघि नै अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि टीकापुर नगरपालिकाको कार्यपालिकाले निलम्बन गर्दै ०८० फागुनमा जानकारी गराएको थियो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार शाहको निलम्बन जारी रहनेछ । ‘फैसलाको पूर्णपाठ आएपछि उहाँहरुलाई पूनरावेदनको अधिकार हुन्छ,’ उनले भने, ‘पूनरावेदनपछि सर्वोच्चले सफाइ दियो र उहाँको उपमेयरमा अवधि बाँकी रह्यो भने निलम्बन फिर्ता हुन्छ । सर्वोच्चबाट पनि दोषी ठहर भए उहाँको पद नै जान्छ ।’ शाह ०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका थिए । उनी नगर विकास समितिका तत्कालीन बोर्ड सदस्य हुन् ।

टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा अख्तियारले दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

यस्तै, विशेष अदालतले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी र उपसमिति संयोजक गणेशसिंह रावलललाई डेढ वर्ष कैद र १३ लाख सात हजार तीन सय जरिवाना तोकेको छ । जोशीलाई थप तीन महिना कैद हुने फैसलामा उल्लेख छ । अन्य पदाधिकारी र कर्मचारीलाई भने तीन महिना कैद र १३ लाख सात हजार तीन सय जरिवाना तोकिएको छ । दोषी ठहर भएका अन्य जग्गाधनीलाई भने तीन महिना कैद र बिगोअनुसारको जरिवाना तोकिएको छ ।  व्यक्तिको नाममा कायम भएको जग्गा जफत हुने फैसलामा उल्लेख छ । अन्य दुई जना जग्गाधनीको पनि जग्गा जफत हुने तर कैद र जरिवाना भने नतोकिएको फैसलामा उल्लेख छ । उक्त मुद्दामा एक सय ६२ जनाले भने सफाइ पाएका छन् । 
 

प्रतिक्रिया