धनगढी । धनगढीमा अटो रिक्सामा बेहोस भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री रहेका छन् ।
बिहीबार सुपप्र ०१००१ ह ४८८७ नम्बरको अटोमा सवार खत्री एक्कासी बेहोस भएकामा उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
घटनापछि अटो चालक धनगढी-४ बस्ने ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी-३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुसन्धानका लागि एकछिन नियन्त्रणमा लिइएको उनले बताए । 'चालकलाई हामीले हिजो एकछिन नियन्त्रणमा लिएका थियौँ, अहिले उनी हाम्रो सम्पर्कमै छन्, अनुसन्धान भैराछ, आवश्यक परे उपस्थित हुन्छन्,' उनले भने । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया