ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अचाक्ली महँगियो सिमेन्ट र छड, सरकार किन मौन ?

शुक्रबार २६, पुष २०८१ ०२:५७

धनगढी । निर्माणका गतिविधिले तीव्रता पाउने समयमै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि भएपछि सर्वासाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । सिमेन्ट उद्योगीहरुले मंसिरदेखि मात्रै प्रतिबोरा दुई सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् ।

त्यसैगरी छड उद्योगीले पनि छडको मूल्य प्रतिकिलो १५ रुपैयाँसम्म बढाएका छन् । ‘निर्माण सामाग्रीको प्रतिदिन भइरहेको मूल्य वृद्धिले काम गर्नै नसकिने अवस्था आएको छ,’ कैलालीको गेटामा घर निर्माण गरिरहेका भक्तराज जोशीले भने, ‘बर्सात र दसैं सकिएसँगै डन्डी र सिमेन्टको मूल्य धेरै बढाइएको छ । पाँच सयमा पाइने एक बोरा पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा सात सय ४० रुपैयाँ र छ सयमा पाइने ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा आठ सय ४० रुपैयाँ पुगाइएको छ ।’

सिमेन्ट र छडमा भएको अत्यधिक मूल्य वृद्धिले निर्माण व्यवसाय नै धरापमा परेको बताँउछन्, सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव खेमराज जोशी । ‘निर्माणको सिजनमै सिमेन्ट उद्योगीले नाफा कमाउने उद्देश्यले कार्टेलिङ गरेर सिमेन्टको मूल्य अत्यधिक बढाइदिएका छन्,’ उनले भने, ‘सिमेन्ट, डन्डीलगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी मूल्य बढाइएको हो । यसले सुदूरपश्चिमको निर्माण उद्योगलाई कोमामा पुगाइदिएको छ ।’

आर्थिक वर्ष २०८१/०८२ को बजेट विश्लेषण गर्ने क्रममा सिमेन्टको मूल्य पीपीसीको प्रतिबोरा चार सय रुपैयाँ र ओपीसीको पाँच सय रुपैयाँ मूल्य कायम थियो । अधिकांश आयोजना सोही मूल्यअनुसार ठेक्का लागेर निर्माणको क्रममा रहेको अवस्थामा मूल्य बढाइएपछि समस्या भएको निर्माण व्यवसायी बताउँछन् । मंसिर २७ गते उद्योगमन्त्री, वाणिज्य विभागका महानिर्देशक, सचिवहरू लगायत र सिमेन्ट उद्योगीबिच भएको छलफलमा ओपीसी सिमेन्ट प्रतिबोरा पाँच सय ६० रुपैयाँ र पीपीसी सिमेन्टको मूल्य चार सय ६० रुपैयाँ राख्ने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नहँदा समस्या भएको महासचिव जोशीले बताए ।

हार्डवेयर व्यवसायी संघ कैलालीका अध्यक्ष कुबेरबहादुर शाही पनि सिमेन्टमा प्रतिबोरा साढे दुई सय मूल्य बढेको स्वीकार गर्छन् । ‘सिमेन्ट र छड उद्योगीले मूल्य बढाएका मात्रै छैनन् कृतिम अभाव पनि सृजना गर्दै आएका छन्,’ शाहीले भने, ‘यसले सबैतर्फ समस्या आएको छ ।’ अध्यक्ष शाहीका अनुसार मंसिर २२ गते कैलाली हार्डवेयर व्यवसायी संघले धनगढीमै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

‘हामीले अस्वभाविक मूल्य वृद्धि फिर्ता गराउन र कृतिम अभावको समस्या समाधान गर्न मन्त्रीज्यूलाई आग्रह गरेका थियौं,’ उनले भने, ‘ ध्यानाकर्षण पत्र बुझाएपछि पनि मूल्य बढायएको छ । मूल्य निर्धारणमा सरकारको कुनै भूमीका नै देखिन्न ।’ निर्माण व्यवसायीका अनुसार निर्माणको सिजन सुरु हुने समय मंसिरदेखि हो । बर्सात र दसैँको समयमा निर्माणको काम कमै हुने भएकाले मंसिरदेखिको समयलाई निर्माण उद्योगले आफ्नो मूख्य सिजन मान्दै आएको छ ।

‘निर्माणको सिजन सुरु हुने वित्तिकै सिमेन्ट र छड उद्योगीले मूल्य बढाउने गरेका छन्,’ सुदूरपश्चिमकै एक निर्माण व्यवसायीले भने, ‘सरकारले पटकपटक छलफल गरेर नियमन गरेको जस्तो देखाउँछ । तर, मूल्य घट्दैन । मूल्य वृद्धिमा पनि आर्थिक चलखेल नै हुन्छ ।’

प्रतिक्रिया