धनगढी । यस वर्ष चैते धानको उचित मूल्य नपाएका कैलालीका किसान यो सिजनमा पनि धानको मूल्य घटेपछि मर्कामा परेका छन् । मूल्य घटेर बीउ, मलखाद, खनजोत आदिको लागतसमेत नपाउने अवस्था आएको किसानको गुनासो छ । कैलालीको ग्रामीण क्षेत्रमा अहिले मोटो धानको मूल्य सरकारले तोकेको भन्दा प्रतिक्विन्टल साढे आठ सय रुपैयाँ कमसम्ममा कारोबार भइरहेको छ ।
कैलालीको भजनी नगरपालिका–३, ढुसीका किसान सीताराम रानाले प्रतिक्विन्टल दुई हजार छ सय रुपैयाँमा डेढ सय बोरा मोटो धान बिक्री गरे । छ विघा जमिनमा धान रोपेका उनले गत वर्ष यहीँ सिजनमा प्रतिक्विन्टल तीन हजार एक सय रुपैयाँमा धान बिक्री गरेको बताए । मूल्य घट्दा घाटा खाएर धान बिक्री गर्नुपरेको गुनासो उनले गरे ।
‘हरेक बस्तुको मूल्य बढीरहेको छ । धानको मूल्य भने घट्दै छ । मूल्य घटेर लगानी उठाउनै गाह«ो भयो’ रानाले भने, ‘बढी मूल्य पाइएला कि भनेर गाउँ र आसपासका गल्ला व्यापारीकहाँ पनि बुझेँ, सबै ठाउँ उस्तैउस्तै दर रहेछ ।’ घरमा भण्डारण गरेर राख्ने ठाउँ नभएकाले थ्रेसिङ गरेलगत्तै बिक्री गर्नु परेको उनले बताए । ‘केही समय राखेको भए पछि मूल्य बढ्थ्यो होला तर राख्ने ठाउँ भएन’ उनले भने, ‘चाडपर्व र हिउँदे बाली लगाउने खर्चको जोहो गर्न पनि धान बिक्री गर्नु प¥यो ।’
कैलारी गाउँपालिका–४, हसुलियाका किसान राम दहितले यस वर्ष मूल्य घटेकाले धान बिक्री गर्न सकेका छैनन् । उनलाई हिउँदे बाली लगाउने खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । घटेर लागतसमेत नउठ्ने भएपछि धान घरमै थन्क्याएर राखेको उनले बताए । दहितका अनुसार गत वर्ष यहीबेला गाउँमा मोटो धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो । यस वर्ष दुई हजार पाँच सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
सरकारले यस वर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ ।
‘धान बेचेरै हिउँदे बालीका लागि बीउ, मलखाद आदि खर्चको व्यवस्थापन गर्नुपर्छ’ दहितले भने, ‘यसपालि मूल्य नपाएर धान त्यतिकै राख्दा हिउँदे बाली लगाउने खर्च कसरी जुटाउने भन्ने समस्या छ ।’ यसपालिका बाढी नआएकाले धान राम्रो फलेको उनले बताए ।
बाढी प्रभावित क्षेत्र भजनी र कैलालीमा बर्खायाममा आउने बाढीले धानबालीमा ठूलो क्षति गर्छ । यसपालि ठूलो बाढी नआउँदा धानबाली राम्रो भए पनि अहिले धानको उचित मूल्य नपाएको ती क्षेत्रका किसानको गुनासो छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद सुरु गरेपछि गत वर्ष कैलालीमा पछि मोटो धान प्रतिक्विन्टल तीन हजार चार सयसम्म पुगेको थियो ।
व्यापारीले धानको मूल्य मनोमानी तोकेको किसानको गुनासो छ । यसपालि चैते धानको मूल्य पनि अहिलेकै जति थियो । धान भित्र्याउने बेला हरेक वर्ष व्यापारीले भनेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको धनगढीका किसान रेबन्त बोहराले बताए । यस वर्ष झन् मूल्य घट्दा किसान मारमा परेका उनले बताए । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद सुरु गरेपछि भने धानको मूल्य केही बढ्ने गर्छ ।
उत्पादन घट्ने अनुमान
कैलाली धान उत्पादनका लागि उर्बर जिल्ला हो । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यहाँ ७२ हजार हेक्टर क्षेत्रमा धानखेती गरिन्छ । धानको उत्पादकत्व प्रतिहेक्टर ३.४ मेट्रिकटन छ । कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख टेकबहादुर बिष्टले यसपालि धानको समग्र उत्पादन घट्ने आँकलन रहेको बताए ।
समयमै पानी नपरेको र रासायनिक मलको अभाव भएकाले ५–७ प्रतिशतसम्म उत्पादनमा कमी आउनसक्ने उनले बताए । ‘धान रोपेपछि करिब एक महिनासम्म खडेरी भयो । धानले गाँज हाल्ने बेला किसानले रासायनिक मल पाएनन्’ बिष्टले भने, ‘फुल्ने बेला पानी पर्दा परागसेचनमा बाधा भएकाले उत्पादन घट्ने देखिएको छ ।’
कैलालीमा मोटो र मध्यम धानको उत्पादन बढी हुने गरेको तर बढी प्रयोग मसिनो चामलको हुने भएकाले पनि मोटो धानको मूल्य घटेको हुनसक्ने उनले बताए । बिष्टले भने, ‘हामीकहाँ भने मोटो धान बढी लगाइन्छ । तर मसिनो चामलको प्रयोग बढेको छ । समग्र उत्पादन बढ्नुले पनि मोटो धानको मूल्य घटेको हुनसक्छ ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले भारतबाट आयात हुने धान र चामलको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुले पनि धानको मूल्य घटेको हुनसक्ने बताए । भारतबाट धान र चामलको आयात अत्यधिक बढेकाले यहाँको उत्पादनले बजार नपाएको उनले बताए ।
‘पछिल्लो समय धान र चामलको आयात अत्यधिक बढेको तथ्यांक छ । गल्लाहरुमा गत वर्ष आयात गरिएकै धान बाँकी देखिन्छ’ थापाले भने, ‘भारतबाट आयात हुने धानचामलको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा पनि मूल्य घटेको होला ।’
खाद्यमा छैन धान खरिदको सुरसार
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हरेक वर्ष सरकारले निर्धारण गरेको मूल्यमा किसानबाट धान खरिद गर्ने गर्छ । तर खाद्यले ढिलोगरी खरिद गर्दा किसानले व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्छ । खाद्यले खरिद सुरु गरेपछि भने व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् ।
यस वर्ष खाद्यले कैलालीमा कति परिणाममा धान खरिद गर्ने भनेर कोटानै निर्धारण गर्न सकेको छैन । खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले केन्द्रबाट कोटा निर्धारण भएर आएपछि खरिद सुरु गरिने बताए । भित्र्याएको बेला धानमा चिस्यानको मात्रा बढी हुने भएकाले खाद्यले केही समय पर्खेरमात्र खरिद गर्ने गर्छ ।
उनका अनुसार कोटा तोकेर आएपछि धनगढी, टीकापुर, सत्ती, भजनी, जोशीपुर र गौरीगंगाबाट धान खरिद गरिने छ । गत वर्ष खाद्यले कैलालीबाट ५५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरे पनि बिक्रीका लागि किसान नआउँदा साढे ३४ हजार क्विन्टलमात्र खरिद गर्न सकेको थियो ।
प्रतिक्रिया