धनगढी । बझाङमा एक वर्षीया नाबालिकाको हत्या भएको छ । जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाकी एक वर्षीया बालिका गीता साउँदको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार हत्या आरोपमा ३२ वर्षीय प्रेमबहादुर बोहरालाई पक्राउ गरिएको छ । ‘बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘प्रेमबहादुर ती नाबालिकाका सौतेलो बुवा हुन् ।’
उनका अनुसार बोहराले मनकली साउँदलाई विवाह गरेर ०८१ भदौ २२ गते ल्याएका थिए । गीता भने मनकलीले बोहरासंग विवाह गर्नुअघि अछामको मंगलसेन नगरपालिका–३ का प्रेम साउँदसंग विवाह गरेकी थिइन् । गीता मनकली र प्रेम साउँदकी छोरी हुन् ।
प्रहरीका अनुसार मनकला र हत्या आरोपी बोहराबीच ०८१ मङ्सिर २ गते विवाद भएको थियो । विवादकै क्रममा बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन् । घटनाबारे प्रहरीलाई भने ३ गते साँझ मात्रै जानकारी प्राप्त भएको प्रहरी निरीक्षक ठगुन्नाले बताए । अहिले सात दिनको म्याद थप गरेर बोहरामाथि अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया