धनगढी । बाजुराको त्रिवेणी नगरपालिकाको १६औँ नगर अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न नगर अधिवेशनबाट विभिन्न ७ वटा कार्यविधि तथा विधेयक पारित भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहका अनुसार नगरपालिकाको कृषक समूह गठन तथा व्यवस्थापन कार्यविधि २०८१, विपद कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१, त्रिवेणी नगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र विधि २०८१, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८१, नगरपालिकाको वन सम्बन्धी ऐन २०८१, सामुदायिक वन सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ र नगर शिक्षा ऐन संशोधनसहित पारित गरिएको छ ।
'शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र वातावरणमैत्री पूर्वाधार, पर्यटन क्षेत्रको पहिचान त्रिवेणी नगरपालिका विकासको मुलधार' भन्ने मूल नाराका साथ सुरु भएको अधिवेशन नगरप्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका थिए भने उपप्रमुख कमला कुमारी जैशी न्यौपानेलगायत अधिवेशनमा सहभागी भएका थिए ।
प्रतिक्रिया