धनगढी । सुदूरपश्चिममा प्रत्यक्षमा सबैभन्दा बढी सिट जितेको रास्वपाले समानुपातिकमा पनि सोही अनुसार मत पाएको छ । यसपटक सुदूरपश्चिमका मतदाताले नयाँ दल रास्वपालाई पहिलो रोजाइ बनाएका छन् ।
सामानुपातिक मतको तथ्यांक हेर्दा रास्वपा ३ लाख १७ हजार ८३६ मतसहित पहिलो शक्ति बनेको छ। नेपाली कांग्रेस १ लाख ८२ हजार ८४२ मत ल्याएर दोस्रो र नेकपा एमाले १ लाख ४७ हजार ९०९ मतसहित तेस्रो स्थानमा सिमित बनेको छ। नेपाली कम्युनिष्ट पार्टी चौथो र राप्रपा पाँचौँ स्थानमा छन्। अन्य दल भने निकै पछि परे ।
तथ्याङ्कको विश्लेषण गर्दा विकट पहाडी र हिमाली जिल्लाहरूमा भने अझै पनि कांग्रेस र एमालेकै प्रभाव देखिन्छ। बाजुरा, अछाम–१ र अछाम–२ अनि डोटीमा नेपाली कांग्रेसले सर्वाधिक मत पाएर पहिलो स्थान हासिल गरेको छ। त्यसैगरी बझाङ र दार्चुलामा नेकपा एमाले पहिलो पार्टी बनेको छ । यी क्षेत्रहरूमा रास्वपा तेस्रो वा चौथो स्थानमा सीमित छ। यद्यपि, डोटीमा कांग्रेस र रास्वपाबीच कडा टक्कर ३९ मतको मात्र फरक देखिन्छ ।
कैलाली र कञ्चनपुरमा रास्वपाले क्लिन स्वीप गरेको छ। कञ्चनपुरका ३ वटै क्षेत्र र कैलालीका ५ वटै क्षेत्रमा रास्वपाले ठूला दलहरूलाई दोब्बरभन्दा बढी मतान्तरले पछाडि पारेको छ ।
नेपाली कांग्रेसको बलियो गढ मानिने डडेल्धुरा र एमालेको प्रभाव क्षेत्र मानिने बैतडीमा समेत रास्वपाले भारी मतसहित पहिलो स्थान ओगटेको छ । अघिल्ला निर्वाचनमा निर्णायक मानिने नेकपा अधिकांश क्षेत्रमा तेस्रो वा चौथो स्थानमा झरेको छ ।
त्यस्तै कैलालीमा बलियो मानिएको नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धनले कैलाली–१, २ र ३ मा सन्तोषजनक मत पाए पनि अन्यत्र प्रभाव देखाउन सकेको छैन। राप्रपाले भने हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाएको छ ।
प्रतिक्रिया