ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अझै सुल्झिएन कञ्चनपुरमा दम्पती हत्याको रहस्य, सीआइबीको टोली खटाइयो

बुधबार ०५, मङि्सर २०८१ ०३:२४

धनगढी । कञ्चनपुरमा एक दम्पतीको हत्या भएको एक महिना पुग्न थालेको छ । लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला कार्तिक ९ गते मृत फेला परेका थिए । प्रहरीको प्रारम्भिक अनुसनधानबाट उनीहरुको बीभत्स हत्या भएको खुलेको थियो ।

तर, घटनाको रहस्य सुल्झिएको छैन । प्रहरीले हत्यामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धानका लागि एक सातादेखि सीआइबीको टोली खटिएको छ । सीआइबीका बरिष्ठ प्रहरी नायब निरीक्षक सुर्य श्रेष्ठको कमाण्डमा घटनाको अनुसन्धान भइरहेको कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए । जोशीले भने, ‘इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्सपेक्टरको टोली पनि अनुसन्धानमा सघाइरहेको छ । प्रदेश र संघबाट पनि प्रहरी टोली खटिएर सीआइबीलाई सघाइरहेको छ ।’

उनका अनुसार बडायक दम्पतीका विषयमा परिवारका सदस्य र आफन्त जानकार नहुँदा घटनाको अनुसन्धानमा समस्या भइरहेको छ । बडायक दम्पती मृत फेला परेकै दिन कञ्चनपुरका डीएसपी जोशी र प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो ।

कात्तिक ८ गते राति सँगै सुतेका उनीहरु दोस्रो दिन बिहान मृत फेला परेका थिए । रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य लटपटिएको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट थियो । 

बयाडक दम्पती गाउँको घरभन्दा झण्डै डेढ किलोमिटर टाढा रहेको पसलमा बस्दै आएका थिए । उनीहरूले मदिरासहितको नास्ता पसल राखेका थिए । गाउँको घरमा परिवारका सदस्य बस्दै आएका थिए भने पसल रहेको घरमा बडायक दम्पती मात्रै बस्ने गरेका थिए । 
 

प्रतिक्रिया