धनगढी । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई १ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।
स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन् ।
त्यसअघि मलेसियामा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । हारसँगै नेपालको सुपर सिक्स प्रवेशको सम्भावना कमजोर बनेको छ ।
प्रतिक्रिया