धनगढी । कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई बागमती प्रदेशले पराजित गरेको छ । सोमवार फाप्ला मैदानमा भएको खेलमा बागमतीले आर्मीलाई १४ रनले पराजित गरेको हो ।
बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रनमा समेटियो । आर्मीका लागि अञ्जली विश्वकर्माले १४, निग्मा तामाङले १३ तथा कप्तान लक्ष्मी साउदले १० रन बनाए । बागमतीका लागि सोनु खड्का, कञ्चन श्रेष्ठ र मनिषा उपाध्यायले समान २/२ तथा संस्कृती फुयाल र विपाशा शाहीले समान १/१ विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले हुस्सुका कारण निर्धारण गरिएको १५ ओभरमा २ विकेट गुमाएर ८१ रन जोडेको थियो । उसका लागि यशु पाण्डेले २५, कप्तान कञ्चन श्रेष्ठले २४ र यशोदा विष्ट २० रन बनाइन् । आर्मीका लागि इश्वरी विष्ट र लक्ष्मि साउदले समान १÷१ विकेट लिइन् । जितसँगै बागमती २ खेलमा २ अंक जोड्दै समूह बी को तेस्रो स्थानमा छ । पराजित आर्मी २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।
सोमबार नै भएको दोस्रो खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ४७ रनले पराजित गरेको छ । फाप्ला मैदामा कोशीले दिएको १०७ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेट गुमाउँदै ५९ रन मात्रै बनाउनसक्यो । उसका लागि प्रतिमा साहले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका कप्तान रुविना क्षेत्रीले ३ तथा ज्योती जनवार र अलिशा खडियाले समान २/२ विकेट लिइन् । संगीता राईले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । उसका लागि कप्तान रुविना क्षेत्रीले ५७ तथा टिका शाहले २१ रन बनाए । मधेशका प्रतिमा शाहले २ तथा दीपा बम, सरस्वती कुमारी र भुमी सिंहले समान १/१ विकेट लिइन् । लगातार दोस्रो जितसंगै कोशी प्रदेश समूह बी को शिर्ष स्थानमा उक्लिएको छ । मधेश भने लगातार दोस्रो हारसंगै अंकविहीन भएर समूहको पुछारमा छ । समूह ‘ए’ बाट भने एपिएफ र सुदूरपश्चिम प्रदेश प्रतियोगिताको सुपर फोरमा पुगिसकेका छन् ।
प्रतिक्रिया