ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
थालियो नाली निर्माण

धनगढीलाई डुबानबाट जोगाउन साढे १३ करोडको योजना

बुधबार ०९, माघ २०८१ ०१:३३

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी उपमहानगरलाई डुबानबाट जोगाउन नाली निर्माणको योजना शिलान्यास गरिएको छ । मोहनापुर–अत्तरिया जोड्ने छ लेन सडकको सर्भीस लेनमा ढल निर्माण योजनाको बुधबार शिलान्यस गरिएको हो । सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले उक्त योजनाको शिलान्यस गरे । 

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका अनुसार साढे १३ करोडमा ढल निर्माणका लागि दुई प्याकेजमा सम्झौता भएको छ । कार्यालयका प्रमुख शिखर लामा तामाङका अनुसार मोहनापुलदेखि धनगढीको राजपुरसम्म नाली बनाएर बस्तीको पानी मोहना नदीमा फाल्ने लक्ष्य थियो । ‘तर अहिलेलाई मोहनापुलदेखि चौराहसम्म मात्रै नाली निर्माण गर्ने योजना सुरु भएको छ,’ उनले भने, ‘छ लेनको एकतर्फ एक हजार ४५९ मिटर र अर्कोतर्फ एक हजार ३६५ मिटर नाली निर्माणका लागि ठेक्का सम्झौता भएर बुधबार शिलान्यस गरिएको हो ।’

कार्यालय प्रमुख तामाङका अनुसार एक हजार चार सय ५० मिटर नाली निमार्णका लागि सात करोड ४४ लाख ७९ हजारमा एमबी–शुभलक्ष्मी–आदर्श जेभी र एक हजार तीन सय ६५ मिटर नाली निर्माण गर्न छ करोड पाँच लाखमा सनराइज–चन्द्र विकाश–मस्टा जेभीसंग सम्झौता भएको छ । ‘दुबै योजनाको निर्माण सम्झौता ०८१ असार २० गते भएकोमा ०८३ वैशाख १६ गते निर्माण सम्पन्न मिति रहेको छ,’ कार्यालय प्रमुख तामाङले भने, ‘नाली निर्माणको काम सम्पन्न भएपछि धनगढी उपमहनगरपालिका वडा नम्बर २ र ३ मा हुने डुबानको समस्या निराकरण हुने अपेक्षा लिएका छौं । बस्तीको पानी नालीसम्म ल्याउन विभिन्न ठाउँमा च्याम्बर निर्माण गरिने छ । नालीमार्फत उक्त पानी मोहना नदीमा पु¥याइने छ ।’

हुन त यसअघि मोहनापुल–अत्तरिया सडकमा पनि नाली निर्माण भएको छ । तर, उक्त नालीले बस्तीको पानी भने निकास गर्न सकिरहेको छैन । ‘उक्त नाली बाटोको पानी निकासका लागि मात्रै भयो,’ संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख तामाङले भने, ‘त्यो नाली बस्तीभन्दा उचाईमा निर्माण गरिएकोले बस्तीको पानी निकास हुन पाएन । सोही कारण नयाँ नाली निर्माण गर्न थालिएको हो ।’

प्रतिक्रिया