धनगढी । भादा होमस्टेमा पर्यटकको आवागमनलाई सहज बनाउने उद्देश्यले भादाको प्रदेशद्वारमा रहेको काठेपुल विस्थापन गर्न कैलालीको धनगढी उपमहानगरपालिकाले पक्की पुल निर्माणको ठेक्का दियो । तर, लागत अनुमानभन्दा झण्डै आधा कम रकममा ठेक्का कबोल गरेको तेडी–मित्र जेभीले तीन वर्षमा पुलको स्पान नै ढलान गर्न सकेको छैन । ०७८ कात्तिक १५ गते धनगढी उपमहानगरपालिका र सो जेभीबीच ०८० असोजसम्म निर्माण सम्पन्न गर्ने शर्तमा सम्झौता भएको थियो ।
सम्झौता लगत्तै काठे पुल उखेलेर मोबिलाइजेसन पेमेन्ट लिएको जेभीले खोलामा खाल्डो खनिसकेपछि दुई वर्षसम्म फर्केर नआएको स्थानीयले बताएका छन् । थारु होमस्टे भादाको व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले तीन वर्ष पहिले काठे पुल तोडेर जमीन खनेपछि ठेकदारले दुई वर्षसम्म कुनै काम नगरेको बताए । पाँच करोड ४० लाख ४१ हजार ५२८ रुपैयाँ लागत अनुमान रहेको सो पुलको ठेक्का तीन करोड दुई लाख ५४ हजार ५१८ रुपैयाँमा ठेक्का कबोल गरेको थियो । समयमा काम नभएपछि उपमहानगरपालिकाले दुई पटक म्याद थप गरी आउँदो चैत ३० गतेसम्म निर्माण कार्य सक्याउने समय दिएको छ । यो अवधिमा केही मात्रामा काम गरेको ठेकेदारले ३९ प्रतिशत काम गरेको र एक करोड १९ लाख ११ हजार ९२९ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर पनि समयमै काम सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् ।
धनगढी–१६ का वडाध्यक्ष रामबहादुर चौधरीका अनुसार एकतर्फको स्पान ढलाई भइसकेको छ भने अर्कोतर्फ स्पान ढलाईको काम बाँकी छ । धेरै प्रयासपछि ठेकेदारलाई ल्याएर काम गराइरहेको बताउँदै उनले जेभीमा रहेका अन्य निर्माण कम्पनीहरुलाई समेत सक्रिय बनाएपछि मात्रै पुलको काम भइरहेको जनाए ।
पुल निर्माण नहुँदा भादा, तिलकपुर, घसिटा लगायतका बाउँका बासिन्दालाई धनगढी आउजाउ गर्न निकै कठिन भएको छ । उनीहरुले सो ठाउँ भन्दा केही मिटर दक्षिणमा रहको जिर्ण काठेपुल प्रयोग गर्न बाध्य भएका छन् । पुल निर्माण गर्ने योजना अलपत्र भए पनि उपमहानगरपालिकाले ठेकदारलाई काम गर्न ताकेता नगरेको स्थानीयको आरोप छ । अध्यक्ष चौधरीले पुल निर्माण ढिलो हुनुमा उपमहानगर र ठेकेदार दुबैले लापरबाही गरेको बताए । उनले पुल नबन्दा भादाका बासिन्दा र भादामा आउने पर्यटकलाई समेत सास्ती झेल्नुपरेको बताए ।
तेडी–मित्र–तेज जेभीले २०७८ कात्तिक १५ गते नै धनगढी उपमहानगरपालिकाबाट ठेक्का लिएको अर्को पुल पनि अलपत्र पारेको छ । चार करोड १२ लाख २७ हजार २४८ रुपैयाँ लागत अनुमान रहेको धनगढी–६ को दोघराबाट सामुदायिक वन कार्यालय निस्कने बाटोमा पर्ने सुकुटी खोलामा पुल निर्माणको ठेक्का दुई करोड २८ लाख ७२ हजार २७४ रुपैयाँमा सो जेभीले ठेक्का स्वीकार गरेको थियो ।
ठेकेदारले पुलको पाइलिङको काम पूरा गरेको इञ्जिनियर राजु खड्काले बताए । उनले पाइलिङ तयार गरी थप काम अगाडि बढाइएको बताए । उनले ठेक्कापछि कोभिड लागेकाले ठेकेदारले काम गर्न नसकेको र कोभिडपछि ठेकदारले काम गर्न नमानेपछि ढिलो भएको बताए ।
वडा नम्बर ६ का वडा सदस्य महेन्द्र थापाले ठेकदारले नदीभित्र मात्रै काम गरेको र नदी भन्दा माथिसम्म पिलर बनाउने काम बाँकी रहेको बताए । तर, ठेकदारले ५२ प्रतिशत काम गरेको प्रतिवेदन पेश गरी सो बापत एक करोड १९ लाख चार हजार ९८४ रुपैयाँ भुक्तानी दिइएको छ । उपमहानगरपालिकाले सो पुलको काम गर्नको लागि पनि दोस्रोपटक म्याद थप गरी आउँदो चैत ३० गतेसम्म म्याद दिएको छ ।
प्रतिक्रिया