धनगढी । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष नन्दबहादुर ठकुल्लासहित सिंगो वडा पालिकाको टीम डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानको समर्थनमा गएको छ । साँफेबगर नगरपालिका-१ मा वडाध्यक्षसहित वडा सदस्यहरु स्वतन्त्रबाट जितेका पदाधिकारी हुन् ।
वडा सदस्यहरु पूर्ण कुमार शाह, प्रेम नाथ योगी, मय नेपाली र गोयला कुमारी महत्ता अभियानको समर्थनमा गएका हुन् । चारजनासहित आफूले रावलको अभियानलाई समर्थन गरेको वडाध्यक्ष ठकुल्लाले बताए । अभियानद्वारा बुधबार कालीमाटीमा आयोजित कार्यक्रममा संयुक्त वक्तव्य जारी गर्दै अभियानलाई समर्थन गर्ने घोषणा गरेको उनको भनाइ छ ।
कालीमाटीबाट नेकपा एमालेसहित माओवादी र कांग्रेसबाट समेत गरी ४२ जनाले मातृभूमि जागरण अभियानलाई समर्थन गरेको उनको भनाइ छ । नेकपा एमालेबाट निष्कासनमा परेपछि डा.रावल केही दिनदेखि गृह जिल्ला अछाममा संगठन विस्तारको अभियानमा छन् ।
प्रतिक्रिया