काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालसम्म यो सरकार टसमस नहुने दावी गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन उनले पार्टी टुक्याउने र भत्काउनेजस्ता खुद्रे कुरामा सरकार नलाग्ने बताए ।
‘पार्टी टुक्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरु यस सरकारको मेनुमा छैन । ढुक्क हुनुस् काँग्रेस र एमाले सहितको यो बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन’ प्रधानमन्त्री ओलीले भने । सरकार ढल्दैछ भनेर विपक्षीले समय खेर फालिरहेको टीप्पणी उनले गरे ।
‘विपक्षमा रहेका साथीहरुले आफ्नो समय बेर्थै खेर फालेजस्तो लागिरहेको छ । यो सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति काट्दैन आदि इत्यादी । एउटा गीत बजारमा ‘ढले ढले ढले’ भन्ने प्रचारमा छ’ ओलीले भने, ‘त्यस्तै यो सरकार पनि आज वा भरे ढल्यो भनेर राजनीतिक रुपमा गाएको सुन्छु । यो गित मनोरन्जनको लागि पार्टी उत्सवमा सुहाउला । तर राजनीतिमा सुहाउँदैन । यस्तो गित अब बन्द गरे हुन्छ । ८४ सालसम्म यो सरकार टसमस हुँदैन ।’
प्रधानमन्त्रीले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए । हालै सिद्धबाबा सुुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनुएक उपलब्धि भएको उल्लेख गर्दै उनले सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङमार्गको योजना अगाडि बढिरहेको दावी गरे ।
काठमाडौँ–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथाङ्का सडकमार्गसमेत केही दिनअघि मात्रै ‘ब्रेक थ्रु’ भएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया