धनगढी । सुदूरपश्चिमका मतदाताले चुनाव लडेका ११ पूर्वमन्त्री र एक मुख्यमन्त्रीलाई यस पटक चुनावमा जिताएनन्।प्रदेशका मतदाताले पुराना र पटक–पटक अवसर पाएका नेताहरूलाई यस पटक जिताउने गरी भोट नदिएको देखियो।
फेरि पनि संसद् पुग्ने उद्देश्यले चुनावी मैदानमा उत्रिएका विभिन्न दलका ११ जना पूर्वमन्त्री र एक पूर्वमुख्यमन्त्रीलाई यसपटक मतदाताले अस्वीकार गरेका हुन्।
यसपटकको चुनावमा सुदूरपश्चिमका लामो समयदेखि राजनिती गर्दै आएका नेताहरूले नै आफ्नो साख जोगाउन सकेनन्।
अछाम–१ मा नेकपाका नेता डा भीमबहादुर रावललाई नेपाली कांग्रेसका भरतकुमार स्वारले ५२६ मतको झिनो अन्तरले पराजित गरे।
उता, डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टको अवस्था झनै दयनीय बन्यो। उनी चौथो स्थानमा सीमित भए। त्यहाँ कांग्रेसकै भरतबहादुर खड्काले जित निकाले।
पुराना दलका चर्चित अनुहारलाई यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नयाँ उम्मेदवारहरूले ठूलो धक्का दिएका छन्। कैलाली–५ मा पूर्वमन्त्री प्रेमबहादुर आले रास्वपाका आनन्दबहादुर चन्दसँग र कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगर रास्वपाकै जनकसिंह धामीसँग पराजित हुँदै संसदसम्म पुग्न असफल भए।
त्यसैगरी कैलाली–४ मा नेकपा एमालेका लेखराज भट्ट र कञ्चनपुर–२ मा कांग्रेसका नारायणप्रकाश साउद पनि पराजय भए।
यस्तै उता बैतडीमा दामोदर भण्डारी, कञ्चनपुर–३ मा मानबहादुर सुनार, बाजुरामा प्रकाशबहादुर शाह, कैलाली–३ मा गौरीशंकर चौधरी, कैलाली–१ मा जनकराज चौधरी र कञ्चनपुर–१ मा तारा लामा तामाङलाई पनि यसपटक मतदाताले पत्याएनन्।
यसअघि मन्त्री भएका दुई जना पूर्वमन्त्रीले भने चुनौतीका वाबजुद पनि फेरि यस पटक चुनाव जितेका छन्।
दार्चुलाबाट नेकपा एमालेका गणेशबहादुर ठगुन्ना र बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरीले जित हासिल गर्दै प्रतिनिधिसभा पुगेका हुन्।
प्रतिक्रिया