ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अर्जुन ट्रफीः अत्तरियाको लगातार दोस्रो जित

सोमबार २१, माघ २०८१ ०५:१९

धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित निकालेका छन् । गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

एक सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनमा समेटिएको थियो । काठमाडौंका लागि सोनु अन्सारीले १५ तथा विपिन आचार्यले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका कमल गुप्ताले पाँच विकेट लिए । उनी खेलका म्यान अफ द म्याच घोषित भए । दिपेश कँडेलले दुई तथा सुशील साउद सहाव आलमले एक÷एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो । अत्तरियाका लागि विवेक यादवले ३५ बलमा ५३ रनको अविजित पारी खेले । उनले चार चौका र चार छक्का प्रहार गरे । यस्तै, कप्तान सन्तोष कार्कीले २३, सन्दीप क्षेत्रीले १६ र शंकर रानाले १४ रन बनाए । काठमाडौंका दीपेन्द्र रावत र युनिष ठकुरीले दुई–दुई तथा सुर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक–एक विकेट लिए । लगातार दोस्रो जितसंगै अत्तरियाले चार अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ । 

प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा न्यू होराईजन बुटबल र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डीसीए धनगढी र बोष्टन क्रिकेट झापा खेल्नेछन् । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
 

प्रतिक्रिया