ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अर्जुन ट्रफीमा धनगढी र बुटवल विजयी, बाहिरियो झापा

मङ्गलबार २२, माघ २०८१ ०५:३९

धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यू होराइजन बुटवल र डीसीए धनगढी विजयी भएका छन् । गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा न्यू होराइजन बुटवलले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गर्‍यो एक सय ५८ रनको लक्ष्य पछ्याएको बैतडी १४.५ ओभरमा एक सय छ रनमा समेटिएको थियो ।

बैतडीका लागि बसन्त खत्रीले सर्वाधिक २० रन जोडे । हिमाल दुलियाले १९, सुमित बडालले १४ र दिवान पुनले १२ रन जोडे । बुटवलका तुलबहादुर थापाले तीन, विपर्सन केसी र वीर मगरले समान दुई–दुई तथा महेश भार, सिद्धान्त शाही र निर्मल गुरुङले समान एक–एक विकेट लिए । तुलबहादुर खेलका म्यान अफ द म्याच भए । 

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो । उसका लागि दिपक डुम्रेले ४४ बलमा ४५ रन जोडे । आरिफ खानले ४१ रन तथा कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले समान २०÷२० रन जोडे । दशरथका लागि कप्तान भुवन कार्कीले दुई तथा खडक बोहोरा, सलाउदिन खान र रुपेश सिंहले समान एक÷एक विकेट लिए । ‘बी’ समूहमा रहेको बुटबलको यो पहिलो खेल हो भने बैतडीले अहिलेसम्म खेलेका दुबै खेलमा पराजित भएको छ । उक्त समूहमा दुई खेल जितेको सिवाइसी अत्तरिया चार अंकसहित शीर्षमा छ भने बुटवल दुई अंकसहित दोस्रो स्थानमा छ । बैतडी र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौं अंकविहीन छन् । 

मंगलबार नै फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा बोस्टन एकेडेमी झापामाथि डीसीए धनगढीले पाँच रनको रोमाञ्चक जित निकालेको छ । एक सय ४४ रनको लक्ष्य पछ्याएको झापाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन मात्रै बनाउनसक्यो । उसका लागि दिपु भुजेलले ३८, अरुण ऐरी र रोहन बिकले समान २६–२६ तथा रमेश भट्टले २५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । धनगढीका राहुल भण्डारी र नारायण जोशीले समान दुई–दुई तथा भोजराज भट्टले एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको धनगढीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । धनगढीका लागि लोकेश बमले ३६ बलमा ५७ रन बनाए । उनी खेलका म्यान अफ द म्याच भए । अमित श्रेष्ठले २५ तथा मिलन बोहराले १८ रन बनाए । झापाका पवन कार्की, अविशेक कार्की र रोशन शाहले समान दुई–दुई तथा रुशिल रिमालले एक विकेट लिए ।

दुई खेलमा जित र एक खेलमा पराजित भएको धनगढी चार अंकसहित समूह ‘ए’ को दोस्रो स्थानमा छ । समान चार अंक नै भएको डडेल्धुरा राम्रो रनरेटका कारण शीर्ष स्थानमा छ । उक्त समूहमा रहेका झापा भने प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल खेलको घोडाघोडी–११ अंकविहीन हुँदा धनगढी र डडेल्धुरा सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । 

प्रतिक्रिया