धनगढी । विवाहमा झडप भएपछि कैलालीमा तीन जना घाइते भएका छन् । प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका– ६ का केशब नेपालीको छोरी डम्मराको विवाहमा प्रवेश गरेर कुर्सी तोडफोड गर्ने सुशील बम र घोडाघोडी नगरपालिका –३ का २२ वर्षीय प्रमोद परियारमाथि कुटपिट भएको छ ।
उनीहरु कुटपिटबाट घाइते भएका छन् । बमलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । उनको साथबाट चक्कु बरामद गरिएको कैलालीका प्रहरीले जनाएको छ ।
उनीसँगै विवाहमा लफडा गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए । उनका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल जोशी र लम्कीचुहा नगरपालिका– १० बस्ने २२ वर्षीय दिनेश खत्री रहेका छन् ।
उता सुख्खडमा विवाहमा रमाइलो गर्ने क्रममा एक किशोरमाथि कुटपिट भएको डीएसपी बोहराले बताए । घोडाघोडी नगरपालिका–७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाउने क्रममा १५ वर्षीय किशोरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटको आरोपमा घोडघोडी नगरपालिका–७ का २३ वर्षीय आकाश बिक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र २७ वर्षीय दुर्गा पुनामीमगर पक्राउ परेका छन् ।
प्रतिक्रिया