धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा दुई वटा पु्ल निर्माणको काम सुस्त देखिएको छ । दुबै पुल निर्माण गर्न ठेक्का लिएको साढे चार वर्षमा वाइपी कन्स्ट्रक्सनले पुल निर्माणको काम आधा पनि गरेको छैन ।
पूर्वाधार विकास कार्यालय कैलालीबाट गौरीगंगाको चौमाला र अण्डैयामा २०७७ असार ३१ गते पुल निर्माणका लागि ठेक्का लिएकोमा वाइपीले ढिलासुस्ती गरेको हो । वडा नम्बर १ मा रहेको चौमाला चौराहा र वडा नम्बर २ मा रहेको पुरानो चौमाला बजारलाई जोड्न चौमाला खोलामा पुल निर्माण गर्न तीन वर्षको अवधि राखेर ठेक्का सम्झौता गरिएको थियो । निर्माण कम्पनीले नै पुलको डिजाइन तयारी गर्दै निर्माण गर्ने गरी ठेक्का लगाइएको थियो ।
सुरुमा पुलको डिजाइन नै बनाउन समय लगाएको वाइपीले निर्माणमा समेत ढिलासुस्ती गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालयका इञ्जिनियर विनोद खड्काले निर्माण कम्पनीले काम नगरेकाले चार वर्षसम्म पुल निर्माण हुन नसकेको बताए ।
पूर्वाधार कार्यालयका प्राविधिक अधिकृत देवी बलायरका अनुसार ६० मिटर लम्बाईको पुल निर्माणमा भौतिक प्रगति खासै भएको छैन । वडा नम्बर २ तिरको एबोटमेन्ट क्यापसम्म निर्माण गरिएको छ भने वडा नम्बर १ तिरको एबोटमेन्ट र बीचको पिलरको पाइलिङको काम मात्रै भएको उनले बताइन् । यसअघि, तदारुकताका साथ काम नगरेको वाइपीले गत असार २२ गतेसम्म दिइएको म्याद सकिएपछि काम गर्न थालेको छ ।
पूर्वाधार कार्यालयका अनुसार १२ करोड ७३ लाख ६८ हजार २६१ रुपैयाँ लागत भएको सो पुल निर्माण गर्न वाइपीले सात करोड २३ लाख ८० हजार ८४२ मा टेण्डर हालेको थियो । सो ठेक्काबापत वाइपीले पूर्वाधार कार्यालयबाट दुई करोड तीन लाख ४० हजार ३२७ रुपैयाँ भुक्तानी लिएको छ ।
गौरीगंगाका वडा नम्बर १ र २ मा रहेका दुबै बजार उत्तिकै महत्वपूर्ण छ । बीचमा खोला पर्ने भएकाले गौरीगंगाबासीलाई वर्खामा ओहोरदोहोर गर्न समस्या हुने गरेको वडा नम्बर २ का वडाध्यक्ष जनकबहादुर साउँदले बताए । ‘वडा नम्बर १ मा नगरपालिकाको कार्यालय र क्याम्पस छ । वडा नम्बर २ मा मालिका मावि, पशु तथा कृषि सेवा कार्यालय र स्वास्थ्य चौकी छ,’ अध्यक्ष साउँदले भने, ‘दुबै वडाबासीले सरकारी सेवा लिन र विद्यार्थीले पढ्न जान खोला तर्नुपर्छ । पुल नबनेपछि बर्खाको बेला करिब तीन किलोमिटर हाइवेबाट हिडेर आवतजावत गर्नुपर्छ ।’
यसैगरी, वडा नम्बर ५ अण्डैया र वडा नम्बर ९ लिक्माको बीचमा पर्ने कटैनी नदीमा ५० मिटर पुल दुई वर्षमा निर्माण गर्न वाइपीले ठेक्का लिएको थियो । तर साढे चार वर्षसम्म पनि सो पुलको एबोटमेन्टर र पिलर हाल्ने काम मात्रै सकिएको छ । पूर्वाधार कार्यालयका साइड इञ्चार्ज जितेन्द्र धामीले बिम र स्ल्याब हाल्ने काम बाँकी रहेको बताए । पुल समयमा निर्माण नहुँदा स्थानीय बासिन्दाले जीर्ण भइसकेको काठेपुलबाट जोखीम पूर्ण यात्रा गर्न बाध्य छन् ।
आठ करोड ९५ लाख ८२ हजार ९१६ रुपैयाँ लागत अनुमान भएको सो पुल निर्माण गर्न वाइपीले पाँच करोड २८ लाख ५७५ रुपैयाँमा ठेक्का लिएको थियो । सो पुलको ठेक्काबापत पूर्वाधार कार्यालयले वाइपीलाई तीन करोड ६१ लाख तीन हजार ६२७ रुपैयाँ भुक्तानी गरेको छ । पूर्वाधार कार्यालयका इञ्जिनियर खड्काले दुबै पुल निर्माणमा वाइपीले लापरबाही गरेको बताए । उनले प्रत्येक वर्ष काम नहुँदा बजेट फ्रिज गएको बताए ।
प्रतिक्रिया