ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लयमा फर्किएको सुदूरपश्चिमको पर्यटन क्षेत्र फेरि शिथिलतातर्फ

सोमबार २८, माघ २०८१ ०७:५८

धनगढी । कोरोनाले थला परेर लयमा फर्किसकेको सुदूरपश्चिम प्रदेशको पर्यटन क्षेत्र आर्थिक मन्दीले पुनः शिथिल हुन थालेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार गत वर्षसम्म बढ्दो अवस्थामा रहेको पर्यटन पुनः घट्दो अवस्थामा छ । आर्थिक वर्ष २०७९–८० मा सुदूरपश्चिमका नौ जिल्लामा पर्यटनस्तरका होटल संख्या ४८ वटा थियो भने आर्थिक वर्ष २०८०–८१ मा उक्त होटल घटेर ४६ पुगेको छ । 

अघिल्लो आर्थिक वर्षमा होटल अकुपेन्सी ५०.४१ प्रतिशत थियो भने गतआर्थिक वर्ष २०८०–८१ मा होटल अकुपेन्सी ४२.४ प्रतिशत छ । ०७९÷८० मा होटल शय्याको संख्या १.०३ प्रतिशतले घटेर एक हजार छ सय ३१ पुगेको थियो भने २०८०÷८१ मा होटल शय्याको संख्या १.४७ प्रतिशतले घटेर एक हजार छ सय सात पुगेको छ । अघिल्लो वर्ष होटल तथा लजको संख्यामा कुनै परिवर्तन नआएकोमा गतआर्थिक वर्ष पर्यटकस्तरीय होटल तथा लजको संख्यामा ४.१७ प्रतिशतले कमी आएको छ ।

यसैगरी, अघिल्लो वर्ष पर्यटकस्तरीय होटल तथा लजमा प्रत्यक्ष रोजगारी संख्या ३.४९ प्रतिशतले वृद्धि भई पाँच सय ९३ पुगेको थियो भने गत वर्ष पर्यटकस्तरीय होटल तथा लजमा प्रत्यक्ष रोजगारी संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८५ प्रतिशतले वृद्धि भई छ सय चार पुगेको छ । ‘आर्थिक वर्ष २०७९–८० मा यस प्रदेशमा १५ हजार आठ सय ८१ जना भारतीय, एक हजार दुई सय २३ चिनीँया तथा तीन हजार एक सय तेस्रो मुलुकको गरी जम्मा २० हजार दुई सय १६ जना बाह्य पर्यटकहरुले यस प्रदेशको भ्रमण गरेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०८०–८१ मा यस प्रदेशमा २४ हजार चार सय ४० जना भारतीय, आठ सय ५० चिनीँया तथा पाँच हजार छ सय ८५ तेस्रो मुलुकको गरी जम्मा ३० हजार नौ सय २५ जना बाह्य पर्यटकहरुले भ्रमण गरेका छन् ।’

कोरोना महामारीको प्रभाव न्यून भएको र आर्थिक गतिविधि चलायमान भएसँगै बाह्य पर्यटकको संख्यामा अघिल्लो वर्ष २६१.० प्रतिशतले उत्साहजनक वृद्धि भएको थियो भने गतआर्थिक वर्षमा ५३ प्रतिशतले मात्रै बृद्धि भएको थियो । गतवर्ष विदेशी पर्यटक आउने क्रम उत्साहजनक वृद्धि भएको भन्दै राष्ट्र बैंकले आर्थिक गतिविधि चलायमान हुनुका साथै सडकहरुको स्तरोन्नति भएसँगै बाह्य पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको दावी गरेको छ ।

१० वटा पर्यटकस्तरको होटलहरु तथ्यांक समिक्षा गर्दा २०८०–८१ मा स्वदेशी पर्यटक ४४ हजार १०३, भारतीय १६ हजार ७७२, चिनियाँ ५६४ र तेस्रो मुलुकबाट तीन हजार ९६८ जना गरी ६५ हजार ४०७ जनाले सुदूरपश्चिम भ्रमण गरेको राष्ट्र बैंकले जनाएको छ । २०७९–८० मा समेत १० वटा पर्यटकस्तरीय होटलको तथ्यांक विश्लेषण गर्दा स्वदेशी पर्यटक ३४ हजार २८१, भारतीय पर्यटक सात हजार ३२९, चिनियाँ पर्यटक ५८१ जना र तेस्रोमुलकबाट एक हजार ३७० गरी जम्मा ४३ हजा ५६१ जनाले सुदूरपश्चिम भ्रमण गरेका थिए ।

आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा कोभिड १९ का कारण पर्यटन थला परेको थियो । २०७८–७९ मा कोभिड महामारीको असर विस्तारै कम हुँदै गएपछि स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको थियो । सो वर्ष स्वदेशी एक लाख १५ हजार ५६२, भारतीय चार हजार ४७९, चिनियाँ ८५ र तेस्रोमुलुकका एक हजार २२८ गरी जम्मा एक लाख ३१ हजार तीन सय ५४ जना पर्यटकले सुदूरपश्चिम भ्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।

२०७७–७८ मा होटल तथा लजको संख्या ४.४४, होटल शय्या १.२२, होटलमा रोजगारी ३७.५० प्रतिशतले ह्रास आएको थियो । कोभिडको कारण पर्यटन क्षेत्र चलायमान नभएकोले सो वर्ष होटल तथा लजहरुले कर्मचारीको संख्या कटौति गरेका थिए । दार्चुलामा रहेको दुई वटा पर्यटकस्तरको होटल बन्द भएका थिए । 

प्रतिक्रिया