धनगढी । घरमा बिजुली बाल्ने सपना पूरा गर्नका लागि काम गरिरहेका एकजनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका–३ बिच्छ्यास्थित युनामा रुखले च्यापिएर ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ४८ वर्षीया सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत अस्पताल लैजाने तयारी भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार स्थानीय नापीखोला साना जलविद्युत आयोजनामार्फत गाउँगाउँमा विद्युत पुगाउने कार्य कादुरी संस्थाले गरिरहेको छ । ‘विद्युतिकरणका क्रममा सल्लाका रुख कटानको कार्य भइरहेको थियो,’ अध्यक्ष मल्लले भने, ‘सोही क्रममा रुख ढल्दा च्यापिएर घटना घटेको हो । घाइतेलाई उपचारका लागि अस्पताल लैजानका लागि हेलिप्याड भएको स्थानसम्म पुगाइएको छ ।’
बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोलि घटनास्थलतर्फ गएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया