धनगढी । विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका दुई जना सदस्य र एकजना सहायक प्रशिक्षकलाई धनगढी उपमहानगरपालिकाले आइतबार सम्मान गरेको छ । उपमहानगरले खेलाडीहरु स्नेहा महरा र सावित्री धामी तथा सहायक प्रशिक्षक जानकीकुमारी भट्टलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
सो अवसरमा धनगढी उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताइन् । सम्मानस्वरुप दुवैजना खेलाडीलाई जनही १५ हजार तथा सहायक प्रशिक्षकलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको उनले जानकारी दिइन् ।
उपमहानगरले सम्मान कार्यक्रमअघि खेलाडी र प्रशिक्षकलाई कार्यालय परिसरमा फुलमाला र बाजागाजासहित स्वागत गरेको थियो । गत महिना युएइमा भएको आइसिसी अण्डर १९ महिला विश्वकपको एसिया छनोटमा युएइलाई हराउँदै नेपाल विश्वकपमा पुगेको थियो ।
प्रतिक्रिया