धनगढी । प्राध्यापक डा. हेमराज पन्तको नागरिक अभिनन्दन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार रहेका डा. पन्तलाई शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । धनगढी उपमहानगरपालिकाको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित सुरु भएको र्याली पार्कमोडमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजकसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले माला, खादा र अभिनन्दनपत्रसहित डा. पन्तलाई अभिनन्दन गरेका थिए ।
कार्यक्रममा मेयर गोपाल हमालले डा. पन्तले समाजलाई ठुलो योगदान पुगाएको बताउँदै उक्त योगदानलाई संस्थागत गर्नका लागि नागरिक अभिनन्दन गरिएको बताए । ‘यो सुरुवात मात्रै हो,’ उनले भने, ‘समाजमा योगदान गर्नेलाई प्रेरित गर्न आवश्यक छ । सोहीअन्तर्गत अन्य क्षेत्रमा योगदान पुगाएका व्यक्तिको पनि सम्मान गर्न आवश्यक छ ।’ हमालले धनगढी उपमहानगरले बनाएको कक्षा सातको पाठ्यक्रममा डा. पन्तको जिवनी पनि समेटिएको बताए । नागरिक अभिनन्दनपछि डा. पन्तले आफ्नो बाँकी जीवन पनि धनगढीबासीकै हितका लागि बिताउने बताए ।
को हुन् पन्त ?
धनगढीलाई कर्मथलो बनाएका पन्तको २०११ साल फागुन २१ गते डोटीको सिलगढीमा जन्म भएको थियो । पन्तकाे पुर्खेउली घर भने डोटीकै उच्चाकोट हो । प्रारम्भिक शिक्षा डडेल्धुरामा पूरा गरेका उनले उच्चाकोटकै सीताराम विद्यालयबाट कक्षा ८ पास गरेका थिए । उनले तत्कालिन दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी गरेका थिए। २०३१ सालमा त्रिचन्द्र कलेजबाट आइकम गरेका डा. पन्तले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । २०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई पूरा गरे ।
उनले ०३७ साल माघ १ गतेदेखि कैलाली बाणिज्य क्याम्पसमा पढाउन सुरु गरेका थिए । पछि कैलाली बाणिज्य क्याम्पसको नाम परिवर्तन भएर कैलाली बहुमुखी क्याम्पस भयो । पन्तले कुमाउ विश्वविद्यालयबाट २०४५ सालमा विद्यावारिधी गरेका थिए । विद्यावारिधी गरेकै वर्ष २०४५ सालमा उनी क्याम्पस प्रमुख भएका थिए । त्यसैदिनदेखि उनी चिफ सरका नामबाट परिचित भएका थिए ।
२०६६ सम्मसम्म क्याम्पस प्रमुख रहेका उनी २०६८ सालमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नियुक्त भए । चार वर्षे कार्यकाल पूरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भएका उनले थप दुई वर्ष कैलाली क्याम्पसमा पढाएका थिए । ०७४ सालमा सेवा रिटायर्ड भएका थिए ।
प्रतिक्रिया