ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
यात्रा संस्मरण

‘रावणवाले भाइसाब’को उपाधि पाउँदा

बुधबार ३०, माघ २०८१ ०५:३८

धनगढी । भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भको पूर्वसन्ध्यामा उत्तर प्रदेश सरकारको निमन्त्रणा आयो । नेपालस्थिय भारतीय दूतावास र नेपाल पर्यटन बोर्डको संयोजनमा २३ जनालाई आमन्त्रण गरेको थियो, यूपी सरकारले । एक हप्ताको उक्त धार्मिक पर्यटकीय भ्रमणका सामेल हुने अवसर मैले पनि पाए । 

त्यहाँका पर्यटन व्यवसायीसंग छलफल भयो । मथुुरा, बृन्दावन, ताज महल, प्रयागराजमा अवस्थित महाकुम्भको संगम, काशी, बनारस, अयोध्या, सारनाथ लगायतका धार्मिक–आध्यात्मिक पर्यटकीयस्थलमा अवलोकन गर्ने अवसर प्राप्त भयो । 

यसअघि कहिल्यै नपुगेका धार्मिक पर्यटकीयस्थलहरु भ्रमण अवलोकन गर्ने, प्रयागराज संगममा स्नान गर्ने, काशी बनारसमा बत्ति जलाएर गंगामा अर्पण गर्ने अत्यन्तै दुर्लभ मौका पाइयो यसपटक । यसका साथै मैले एउटा उपाधि पनि पाए– रावणको पक्षधर अर्थात् रावणवाले भाइसाब । 

कृष्णको गुण बाँदरमा 
यात्राको पहिलो दिन २३ जना नै बृन्दावनमा भेट्ने योजना थियो । त्यहाँ हाम्रा लागि आयोजकले बसोबासको व्यवस्था मिलाएको थियो । कपास (कर्णाली पारिको समाज)का साथीहरु कोही दिल्ली एअरपोर्ट त कोही सिधै बृन्दावन पुग्ने भए । मायाप्रकाश भट्ट (माया सर) र मसहित दुई जना बर्दियाका साथीहरु गड्डाचौकीबाट जाने भयौं । बिहान चाडै निस्किएर होला, हामी ४ बजे बृन्दावन पुगिसकेका थियौं । अन्य साथीहरु दिल्लीमा जम्मा भएर आउने हुँदा राति ११ बजेभन्दा पछि नै पुगे । 

हाम्रो यात्रा बृन्दावनमा रहेको द्वारीकाधिश मन्दिरबाट सुरु भयो । हामीलाई यात्राभर सहज पार्नका लागि विभिन्न स्थानमा खटाइएका पर्यटन प्रहरी, पाँच जना गाइडले द्वारिकाधिश मन्दिरको विषयमा जानकारी दिए । बृन्दावनमा बालापन बिताएका भए पनि पछि कृष्ण आवश्यकताअनुसार धेरै ठाउँ पुगे । पछि एकजना सिद्ध पुरुषले चंच्चले कृष्णलाई सिद्धीमार्फत बृन्दावन बोलाएर त्यहीँ स्थापित गरे र अहिले कृष्णको मुख्य मन्दिरका रुपमा द्वारिकाधिश मन्दिर रहन पुग्यो । 

कृष्णप्रति निकै लगाव रहेछ बृन्दावनबासीमा । चिसो लागेपछी कृष्णका लागि न्यानो लुगा आफै बुनेर लगाइदिने रहेछन् । त्यो नभए किनेर भए पनि लगाइदिने गर्दा रहेछन् । कृष्ण आफू मुर्तीमा स्थापित भए पनि त्यहाँका बाँदरहरुमा आफ्नो स्वभाव छोडेका रहेछन् । कसैले चस्मा या टोपी लगाएर गएमा बाँदरहरुले झम्टेर लगिहाल्ने । जति प्रयास गर्दा पनि फिर्ता नदिने । उनीहरुलाई फलफूल दिँदा पनि फिर्ता नगर्ने । तर, फु्रटी दिएपछि मात्र फिर्ता दिने । त्यो दृश्य हेर्दा कृष्णले नुहाउने बेलामा गोपिनीको लुुगा चोरेर मख्खनमा कुरा मिलाए जस्तो अनुभूति भयो । 

मथुरामा जेलभित्र छिर्दा
बृन्दावनपछि भ्रमण टोली मथुरातर्फ लाग्यो । मथुरामा कृष्ण जन्मिएको स्थान हेर्ने पालो थियो । भित्र प्रवेश गर्नुपूर्व बेल्ट, मेटलजन्य बस्तु, मोबाइल फोन सबै बाहिर छोडनुपर्ने । उक्त जेल रहेको भवनलाई पछि बनाएको भए पनि कृष्ण जेलमै जन्मेको झझल्को आउने । पछि मनमा कुरा खेलाउँदै जाँदा बल्ल भेउ पाए, उक्त स्थानलाई आम नागरिकलाई जेलभित्र प्रवेश गर्दाको झँै अनुुभव गराउन रहेछ । पर्यटनमा यस्ता स–साना पक्षहरुले निकै प्रभावपार्ने महसुस र सिकाई भयो । 

ताज महलमा पर्यटकको ओइरो 
ठुलो क्षेत्रफलमा फैलिएको ताजमहलभित्र सफा र फराकिलो थियो । साँझ बन्द हुनेबेला पनि निकै भिडभाड थियो । मुगल बादशाहले आफ्नो स्वर्गीय रानीको सम्झनामा बनाएको भए पनि अहिले त्यो संरचना पर्यटकको आर्कषक रोजाईमा पर्दछ । कुुनै दिन त त्यहाँ दिनमै ५० लाखसम्म भिजिटर पुग्छन रे । पर्यटकका लागि प्राकृतिक दृश्य मात्र प्रमुख होइन रहेछन् । मानव निर्मित संरचना पनि उत्तिकै महत्वपूर्ण रहेछन् भन्ने बुझाइ भयो ।

१२ वर्षपछीसंगै पढेका साथी कुम्भ यात्रामा भेटिए
आग्रादेखि लखनउ निकै लामो यात्रा । बिजय रिजाल दाईले सदुपयोग गरिहाले । बसको अगाडि क्याबिनमा बोलाएर एकएक गरी सहभागीको धारणासहित परिचय आदानप्रदान गर्ने अवसर मिलाए । त्यहीँ क्रममा अरुको जस्तै मैले पनि आफ्नो परिचय दिए । मेरो पढाई जर्नालिजमबाट थियो र काम गर्दै जाँदा पर्यटन व्यवसायमा पुगे ।

यसैसँग सम्बन्धित एउटा प्रसंग सुनाउँदा नेपाल टेलिभिजनकी क्यामेरामेन बिष्णु पन्थीलाई घत लागेछ । मेरो बोल्ने पालो सकिए लगत्तै मलाई उहाँले सोध्नुभयो– तपार्इँलाई देखेजस्तो लाग्यो । परिचय आदानप्रदान भयो, एउटै ब्याजी रहेछौ । नबोलेका तर नोटिस भएका । करिब १२ वर्षपछि आएर कुम्भको यात्रामा पुनः भेट भयो । 

काशी बनारस पुग्ने हुटहुटी
लखनउमा यूपी सरकारको टुरिजम अथोरिटीले स्वागत कार्यक्रम राखेको थियो । त्यहाँका अधिकारीले काशी बनारसको निकै मिठो बयान गरे । ‘बनारसकी गलिका पान जरुर खाना, गंगा आरतीमे आप सबकुछ भुल जाओगे, उहाँके लोग एक हि श्वासमे आपको पुरा बनारस घुमादेंगे,’ लगायतका बयान गरेका थिए ।

उनीहरुका कुरा सुनेर बनारस कहिले पुगौँला झै लागिरहेको थियो । तर कार्यक्रम प्रयागराज संगममा स्नान गर्ने थियो । अखाडा आएपछि हामी जाममा पर्छौ भनेर जति सक्दो चाडो संगममा स्नान गरी हिड्ने तयारी थियो । राति ढिलो गरी सारनाथको होटेलमा पुग्यौं ।

एक मिनेटसम्म हलमा हाँसो गुञ्जिदा
बिहान अशोक स्तम्भ, कुटी बिहार आदी ठाउँ घुमेपछि त्यहाँका स्थानीय व्यवसायीसंग छलफलको कार्यक्रम राखिएको थियो । सबैले आ–आफनो कुरा राख्ने क्रममा मेरो पालो आयो । मलाई मैले बोल्नुभन्दा पहिले माया सरको पालो आए हुुन्थ्यो जस्तो लागेको थियो । उहाँले टनकपुर से जनकपुर तक भनेर कम्तिमा पनि पाँच मिनेट बोलिहाल्नु हुन्थ्यो । उहाँ बोलेपछी म धेरै नबोलौला भन्ने सोच थियो । तर, त्यसो भएन । मेरो पालो पहिले आयो र मैले सुरु गरे ।

‘मे आपको एक ऐसा राज सुनाने जा रहा हु जो कि आपने अभितक सुना हि नहीँ,’ मैले यति भनेपछि सबैको ध्यानाकर्षण भयो र अगाडि बढे, ‘जो आप कैलाश मानसरोवर कि बात कररहे है, उहा जाने का रास्ता बतारहा हुँ। नेपालके हुम्ला, तातोपानी, सिक्किमके रास्ते से पहेले भि कैलाश मानसरोवर जाया कर्ते थे । उस बक्त रास्ता नहीँ था, भिसाका प्राबधान नहीँ था, मोटर गाडी नहीँ थे तो उस बक्त भि भारत से यहाँके सन्त, साधु, ऋषी मुनी कैलाश मानसरोवर जाया कर्ते थे । तो वो रास्ता नेपालके सुदूरपश्चिम प्रदेशके बझागं जिले हो के जाता था । आपको बताही देता हुँ, रावण जो था, वो बहुत कैलाश पर्वतमे शिवजी से मिल्ने जाया कर्ता था, तो वो भि नेपालके सुदूरपश्चिम हो के जाता था ।’

एकछिन सबै जिल्ल परेर हेर्न थाले । हलमा सन्नाटा छायो । मैले थप हो मा हो मिलाउन भनिहाले, ‘हे ना माया सर ?,’ माया सरले पनि कुरा भन्नुभयो, ‘हा हा ।’ र, हलभरी हाँसो गुञ्जियो । कार्यक्रम सकिएपछि मलाई घेरा हाल्न थाले । भन्न थाले –भाइसाब रावणवाले कहानी बताओ । भ्याए जतिलाई भने । यो क्रम यात्रा सकिदा सम्म रोकिएन । हाम्रै सहभागी साथिहरुलाई पनि सुनाइरहनु प¥यो । 

बनारसको रसको नशाले अझै छोडेको छैन 
बनारसको गंगा आरती हेर्न हामीलाई ठुलो क्रुुजमा चढाइयो । आरती भए ठाउँ पुग्न क्रुज उल्टो गतिमा हिड्यो । यो क्रममा बनासरका प्रसिद्ध घाटहरु हेर्ने र तीबारे सुन्ने मौका पाइयो । क्रुज चढेदेखी ओर्लदासम्मको करिब दुई घण्टाको समय निकै आनन्दित र उर्जावान थियो । सायद त्यस्तो क्षण अहिलेसम्म प्राप्त गरिएको थिएन । अहिले पनि त्यो क्षण सम्झदा लाग्छ– म त्यहीँ क्रुजमा बसेर त्यहीँ यात्रा गर्दैछु । अझै पनि बनारस गएर पहेलो बस्त्र धारण गरी कम्तिमा एक हप्ता टहलिन मन छ । 

भिआइपी लाइनबाट काशी विश्वनाथको दर्शन गरेपछि हाम्रो यात्रा अयोध्यातर्फ मोडियो । बाटो लामो थियो । बसमै नाचगान सुरु भयो । नेपाल टेलिभिजनबाट गएका पत्रकार मित्र र बर्दिया टाइगरले निकै नाचे । श्रद्धा म्याडमलाई नचाउन सकिएन । राईझुमा गितमा माया सर र मैले पनि कम्मर मर्कायौ । सीताराम सरले ननाचेरै रमाइलो गराए । 

जल्दीवाले चाचा
माया सरलाई जल्दीवाले चाचाको उपाधि पनि प्राप्त भयो । अग्लो मान्छे, लामा खुुट्टाका लामै पाइला । सबैभन्दा अगाडि पुगेर आफूले हेर्न भ्याएपछि बल्ल पुग्नेहरुलाई ‘चलो चलो भाई, जल्दी चलो’ भनिहाल्ने । अरुले हात सफा गर्दासम्म माया सर खाएर सकाई ‘जल्दी जल्दी खाओ’ भन्न थालिहाल्ने । पछि सम्बोधन गर्दा माया सर नभनी जल्दीबाले चाचा भनेर सम्बोधन हुन थाल्यो । 

बन्दैछ अयोध्या
अयोध्या बन्ने क्रममा छ । राम मन्दिर र परिषर अदभुत स्वरुपका साथ आउँदैछन् । नँयानँया होटेलहरु खुल्दैछन् । हस्पिटालिटी सिक्दैछन् । र, मुख्यमन्त्री योगी आदीत्यनाथको हिन्दु धर्म र विकासप्रतिको लगाव देख्दा स्यालुट गर्न मन लाग्यो । यति क्षमतावान र विल पावर भएका लिडर पनि हाम्रै पालामा छन् । अयोध्या पुगेपछि सीताराम सरले हास्दै सुुटुक्क कानमा भन्नुभयो, ‘यहाँ रावणको बयान नगर्नु मार्लान ।’ हामी दुुई गलगल हास्यौं ।

हामी हासेको देखेर अरु पनि हास्नै पर्ने कुरा भयो होला भनेर पेचिलो हासो हासे । घुम्दाघुुम्दै एक हप्ता बितेको पत्तै भएन । हामीले यात्राभर चढेको बसले रुपडिया नाकासम्म छोडिदियो । यात्राको मिठो याद बोकेर हामी सबै आआफ्नो गन्तव्यतिर मोडियौं । 

(लेखक खड्का लामोसमयदेखि सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रचारप्रसार, प्रवद्र्धन र व्यवसायमा आवद्ध छन् ।)
 

प्रतिक्रिया