ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा सडक बत्तीलाई लिएर काँग्रेस र एमालेबीच टसल

बिहिबार ०१, फागुन २०८१ ०३:२८

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकामा सडक बत्तीको विषयलाई लिएर विवाद बढेको छ । वडा नम्बर ४ स्थित बेलौरी बजार क्षेत्रमा जडान गरिएका सडक बत्ती सोही वडाका अध्यक्ष अर्जुन ढकालले बालिदिएपछि उनी र कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १(२)का प्रदेशसभा सदस्य दिवानसिंह विष्टबीच विवाद बढेको हो । 

वडाध्यक्ष ढकालले निर्माण सम्पन्न भइसकेपछि बत्ती बाल्नु अनुचित नभएको बताउँदै आएका छन् । वडाध्यक्ष ढकालले नै उद्घाटनबिनै बत्ती बालेको भन्दै सांसद बिष्टले आक्र्रोश देखाएको बताएका छन् । एक रात मात्रै बत्ती बालेर अर्को रातबाट बत्ती नबालिएपछि स्थानीय युवाहरुको अनुरोधमा आफू बत्ती बाल्न पुगेको उनको भनाइ छ । सडक बत्ती बालिएपछि बैलौरीमा एमाले र कांग्रेसका नेताकार्यकर्ताबीच सामाजिक सञ्जालमा पनि द्धन्द्ध देखिएको छ । 

तर सांसद बिष्टले भने निर्माण सम्पन्न नहुँदै बत्ती बालिएको बताएका छन् । काम पूरा नभई बत्ती बाल्दा कुनै विद्युतीय दुर्घटना हुनसक्ने खतरा रहेको हुँदा आफूले त्यसो नगर्न भनेको उनको भनाइ छ । उनका अनुसार २६ महिना समयावधि तोकी दिइएको ठेक्का ठेकेदारले १० महिनामै पूरा गरेको थियो । तर पूर्णरुपमा अझै निर्माण सम्पन्न भइसकेको छैन भने पालिकालाई हस्तान्तरण पनि गरिएको छैन । ‘यो २६ महिनाको ठेका हो, सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास कार्यालय धनगढीले टेण्डर निकालेको हो,‘ बिष्टले भने, ‘ठेकेदार सापले ८–१० महिनामै काम सम्पन्न गरे । तर यसको बिल फछ्र्यौट गर्न बाँकी छ । यो महिनाभित्र ठेकेदारको बिल फछ्र्यौट हुन्छ । त्यसपछि हामीले सम्पन्न गरेको कागज प्रमाण ठेकेदारलाई दिनुपर्छ । अहिले यो कामहरु भइसकेको छैन ।’

माघ २३ मा उद्घाटनको तयारी गरिएकोमा काम सम्पन्न भइनसकेको हुँदा फागुन ३ मा उद्घाटन गर्ने तयारी रहेको उनी बताउँछन् । एक रात जाँचका लागि मात्रै बत्ती बालिएको उनको भनाइ छ । ‘सबै बत्ती बल्छन् कि नाईँ भनेर चेक गर्नाका लागि ठेकेदारकै मान्छेले बत्ती बालेका थिए, ७÷८ ओटा पोलमा बत्ती बलेनन् । दोस्रो दिन बत्ती मर्मत गरिएको हो,’ उनले भने । वडाध्यक्ष ढकालले मनोमानी ढंगले सडक बत्ती बालेको उनको आरोप छ । 

यसरी सुरु भयो विवाद
आइतबार वडाध्यक्ष ढकालले बेलौरी बजार क्षेत्रमा जडान गरिएका सडक बत्ती बालेका थिए । उनले निर्माण सम्पन्न भइसकेको र स्थानीयको पनि बत्ती नबालेको भन्दै गुनासो आइरहेको हुँदा ठेकेदारलाई फोन गरेर प्राविधिक टोली बोलाएर बत्ती बालेको बताए । ‘ठेकेदारले सडक बत्ती पहिले नै जडान गरिसकेको थियो । मैले नगरप्रमुखसँग बेलौरी बजार स्थापना दिवसका दिन (माघ २६ शनिबार) बत्ती बालौँ भन्ने कुरा राख्दा उहाँले मन्त्रीबाट उद्घाटन गर्ने भन्नुभाको छ माननीय ज्यूले म त के भनौँ भन्नुभयो,’ उनले भने । 
यति कुरा भइसकेपछि अर्को दिन ठेकेदारलाई फोन गरेर आफू बत्ती बाल्न पुगेको उनी बताउँछन् । ‘मैले ठेकेदार फोन गरेर प्राविधिकका लागि सोधेँ । उहाँहरुले पठाइदिएपछि मैले गएर सडक बत्तीहरु पूरै बाल्दिए,’ उनले भने, ‘भोलिपल्ट माननीय दिवानज्यूले उद्घाटन नभई किन बत्ती बालेको भन्दै ठेकेदारलाई धम्काउनुभएछ । बत्ती काट्न लगाउनुभएछ ।’ 

भोलिपल्ट स्थानीयहरुले उद्घाटन हुँदै गर्छ पछि गर्दा नि हुन्छ बत्ती बालौँ भनेपछि आफू स्थानीय युवकहरुसँग बत्ती बाल्न पुगेको उनी बताउँछन् । ‘सो क्रममा सांसद विष्टले स्थानीय युवक विष्णु अवस्थीलाई तथानाम भनेका थिए,’ उनले भने । अवस्थीले सो घटनापछि सांसद विष्टले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका थिए । तर पछि उनले वडाध्यक्ष ढकालले नै आफूलाई हतियार बनाएर फसाएको र फरार रहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । 
 

प्रतिक्रिया