डोटी । डोटीका स्थानीयबासीहरूले प्रधानमन्त्रीलाई एक चस्मा र एक रुपैयाँ चन्दा पठाएका छन् । तीन वर्षमै निर्माण कार्य सम्पन्न हुनुपर्ने पुल साढे १० वर्षसम्म पनि नबनेपछि स्थानीयबासीहरुले विरोधस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक थान चस्मा र एक रुपैयाँ पठाउका हुन् ।
शिखर नगरपालिका–१० बानेडुंग्रीसैनस्थित सेती नदीमाथि मोटरेवल पुलको निर्माण अलपत्र पार्दा स्थानीयबासीहरु मार्कामा परेका छन् । २०७१ साल असार २९ गते पुल निर्माणका लागि सडक डिभिजन कुलपाते डोटी र निर्माण व्यवसायी कम्पनी पप्पु–राजेन्द्र जेभीबीच सम्झौता भएको थियो । उक्त पुलको निर्माण कार्य २०७४ साल असार २८ गते सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म पुलको भौतिक प्रगति २४ प्रतिशत मात्रै भएको छ ।
निर्माण व्यवसायीले राजनीतिक आडमा पटकपटक ठेक्काको म्याद थप्दै गर्ने तर काम नगर्ने भएपछि शिखर नगरपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिकाका ८ सय ४४ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको स्थानीयबासी तथा सञ्चारकर्मी रामहरि ओझाले बताए । जिल्ला प्रशासन कार्यालय डोटीमार्फत बुझाइएको उक्त ज्ञापनपत्रसंगै हस्ताक्षरकर्ताहरुले प्रतिव्यक्ति एक रुपैयाँका दरले चन्दा संकलन गर्दै बुझाएका छन् ।
प्रतिक्रिया