धनगढी । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शिर्ष स्थानमा पुगेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगिताअन्तर्गत हालसम्म नतिजा आएका खेलहरुमा कैलाली प्रथम स्थानमा रहेको छ ।
हालसम्म सम्पन्न छनोट प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय ४१ रजत र एक सय ५५ कास्य गरी चार सय ६८ पदकको टुङगो लागेको छ । प्रदेशस्तरीय छनोट प्रतियोगितामा कैलालीले सबैभन्दा बढी एक सय ४२ वटा पदक प्राप्त गरेको छ । जसमा ७५ वटा स्वर्ण पदक रहेका छन् । यस्तै ४६ वटा रजत पदक र २१ वटा कास्य पदक कैलालीले जितेको छ ।
अंक तालिकाको दोस्रो स्थानमा कञ्चनपुर रहेको छ । कञ्चनपुरले ६४ स्वर्ण पदक, ४२ वटा रजत पदक र २४ वटा कास्य पदक गरी एक सय ३० पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा डडेल्धुरा रहेको छ । डडेल्धुराले नौ स्वर्ण, १० रजत र २४ कास्य गरी ४३ पदक प्राप्त गरेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाले सहभागीता रहेको छनोट प्रतियोगिताको चौथो स्थानमा बझाङ रहेको छ । बझाङले नौ स्वर्ण, आठ रजत र १० कास्य गरी २७ पदक पाएको छ । पाचौं स्थानमा रहेको बाजुराले छ स्वर्ण, छ रजत र १८ कास्य गरी ३० पदक पाएको छ । छैठौं स्थानमा रहको दार्चुलाले तीन स्वर्ण, नौ रजत र २२ कास्य गरी ३६ पदक पाएको छ । सातौं स्थानको बैतडीले तीन स्वर्ण, नौ रजत र ११ कास्य गरी २३ पदक प्राप्त गरेको छ । आठौं स्थानमा रहेको डोटीले दुई स्वर्ण, सात रजत र २० कास्य गरी २९ पदक पाएको छ । अंक तालिकाको पुछारमा अछाम रहेको छ । अछामले एक स्वर्ण दुई रजत र पाँच कास्य गरी आठ पदक जितेको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । चार सय ५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका दुई हजार आठ सय खेलाडीले सहभागीता जनाएका छन् । सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भइरहेकोमा अधिकांश खेलका खेलाडीहरुको छनोट सकिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए ।
प्रतिक्रिया