धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दलहरुबीच भागबन्डा मिलेपछि प्रदेशसभाका विषयगत समितिका सभापति निर्विरोध चयन भएका छन् ।
प्रदेशसभा सचिवालयले सभापतिको मनोनयन दर्ताका लागि दिएको समयअनुसार शनिबार दिउँसो ४ बजेसम्म सभापति खाली रहेका समितिको सभापतिका लागि एकल उम्मेदवारी परेको हो ।
सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा एमालेका सांसद धर्मराज पाठक र अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले एकल उम्मेदवारी होलेका छन् ।
कांग्रेस र एमालेबीच भएको भागबन्दा बमोजिम विशेष समितिको सभापतिका लागि नेपाली काँग्रेसकी सांसद तुलसी देवकोटाले एकल उम्मेदवारी दिएकी छन् । प्रदेशसभामा विशेष समिति भागबन्डा मिलाउन सत्तारूढ दलबीच सहमति भएको थियो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले चारवटै समितिको सभापतिका लागि एक/एक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध भएको घोषणा सम्बन्धित समितिको बैठकले आइतबार गर्ने जनाए । उम्मेदवारविरुद्ध दावीविरोधको प्रकृया पूरा भएपछि आइतबार मध्यान्ह १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १ बजे समितिहरुको बैठक बसी निर्वाचन गर्ने निर्वाचन तालिका छ ।
सभापति मन्त्री बनेपछि अर्थविकास समिति गत वर्ष फागुनबाट र सार्वजनिक लेखा तथा सामाजिक विकास गत जेठदेखि नेतृत्वविहीन थिए । समितिको नेतृत्व नभएकाले संसदीय समितिहरुको काम कारबाही फितलो भएको थियो ।
प्रतिक्रिया