ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बयालपाटा अस्पतालमा यसरी भयो ‘हिप’ जोर्नीको सफल प्रत्यारोपण

आइतबार ०४, फागुन २०८१ ०३:०६

अछाम । अछामको साँफेबगर नगरपालिका–८ बयालपाटाका ३० वर्षीय युवक निरोज भुलको बायाँ खुट्टाले दुख दिन थालेको तीन वर्ष पुगेको थियो । खुट्टाको दुखाई सहन निरोजलाई गाह्रो भएपछि उनका परिवारले सुरुका दुई वर्षसम्म गाँउघरमै झारफुक गराए । निरोजका दाई बिक्रम भुलले भने, ‘सुरुमा त खुट्टा निनाँउने भयो । त्यहीँ भएर झारफुक गराए निको होला सोचेका थियौं । तर भाइकोे खुट्टाको दुखाई कम भएन ।’

सञ्चो नभएपछि निरोजलाई धनगढीका अस्पतालमा पनि पुगाइयो । तर, त्यहाँबाट नेपालगञ्ज र काठमाडौँ लैजान सल्लाह दिएपछि आर्थिक अभावका कारण बिक्रम भाइको उपचार नगरी घर फर्के । 

त्यसपछि उनलाई जिल्लाबाहिर जान आर्थिक अवस्थाले पुगेन । आर्थिक अभावका कारण भाइको उपचार गराउन नसकेका निरोजका दाई बिक्रमले छ महिनाअघि बयालपाटा अस्पतालमा पुगाए । ‘अस्पतालमा अर्र्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकसंग कुरा भयो,’ विक्रमले भने, ‘उहाँलाई भाइको हिपको जोर्नी प्रत्यारोपणका लागि लाग्ने सामाग्री आफै लिएर आउने र यतै उपचार गराइदिन आग्रह गरे ।’

बिक्रमको आग्रहपछि डा. मन्दिपले निरोजको खुट्टाको एमआरआई गरेर आउन आग्रह गरे । बिक्रमले भाइलाई नेपालगञ्ज लगेर एमआरआई गराए र अछाम फर्के  । ‘एमआरआई रिपोर्ट हेर्दा निरोजको बाँया खुट्टाको गेठी (हिप) पूर्ण रुपमा मरेको थियो,’ डाक्टर मन्दिपले भने, ‘उनको पुरै हिप रिप्लेशमेन्ट (खुट्टाको कम्मरमा रहेको गेठीको प्रत्यारोपण) गर्नुपर्ने थियो । । र हामी त्यसमा सफल भएका छौं ।’

डा. मन्दिपको नेतृत्वमा भएको उक्त शल्यक्रिया वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारीसमेत संलग्न थिए ।  उक्त शल्यक्रिया सुदूर पहाडमै पहिलोपटक भएको बताइएको छ । शल्यक्रियामा संलग्न डाक्टर पन्तका अनुसार निरोजलाई एक दिन मात्रै अस्पतालमा राखेर दोश्रो दिन हिड्न लगाएर घर फर्काउने तयारी छ । 

डा. मन्दिप भन्छन्, ‘यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन भए पनि सम्भव छ । श्रोतसाधन हुने हो र सरकारले समेत यसमा साथ दिने हो भने हड्डीको क्यान्सरको उपचार, जोर्नीहरु खिइएको, घुँडाको हड्डी खिइएको, कम्मरको हड्डी खिइएका र खेलाडीहरुलाई हुनसक्ने चोटपटकका बिरामीको समेत बयालपाटा अस्पतालमै शल्यक्रिया गर्न सकिन्छ ।’
 
यस्तै जिल्लाको चौरपाटी गाँउपालिका–५ गयलकी ७२ वर्षीय चन्द्रकला खड्काको खुट्टाको समेत सफल शल्यक्रिया भएको छ । चार दिन पहिले घरबाट लडेर घाइते भएकी खड्काकोसमेत हिपको जोर्नी भाँचिएको थियो । डाक्टर पाठक नेतृत्वको टोलीले खड्काको अर्ध हिप जोर्नीको सफल प्रत्यारोपण गरेको हो । 

प्रतिक्रिया