धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न पदमा गरेको राजनीतिक नियुक्तिमा नेपाली काँग्रेसभित्र असन्तुष्टि देखिएको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको काँग्रेसको एक पक्ष एकलौटी रुपमा राजनीतिक नियुक्ति भइरहेको भन्दै आपत्ति जनाउन थालेको हो ।
नेपाली काँग्रेस कैलालीका उपसभापति भीम बडुवालले नियुक्तिमा धनगढीलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि जनाएका छन् । । ‘नेपाली काँग्रेसमा आजसम्मका सबैजसो नियुक्ति र पार्टीका प्रमुख पदहरू धनगढीले मात्रै पाएको छ,’ नीति तथा योजना आयोगमा थप सदस्यको नियुक्ति भएपछि बडुवालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कैलाली भनेको धनगढी मात्रै हो ? कैलाली भनेको क्षेत्र नम्बर ५ मात्रै हो ? नेपाली काँग्रेसका मानिसहरू धनगढीमा मात्रै छन् ? यो कस्को स्वार्थले हो ? किन गरिँदैछ यस्तो ?’
प्रदेश सरकारले अहिलेसम्म योजना आयोगमा उपाध्यक्षसहित पाँच जनालाई नियुक्त गरेको छ । जसमा काँग्रेसको भागमा उपाध्यक्षसहित तीन जना परेको थियो । काँग्रेसले उपाध्यक्ष डा. जिवन रानालाई बनाएको छ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य राना धनगढी उपमहानगरपालिका–८ की बासिन्दा हुन् । यस्तै आयोगको सदस्यमा काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारलाई नियुक्त गरिएको छ । उनको घर पनि धनगढी नै हो । आयोगकै सदस्यमा नियुक्त भएका शेरबहादुर भण्डारी भने डडेल्धुराको गन्यापधुराका हुन् । उनी डडेल्धुरा काँग्रेसका सचिव पनि हुन् ।
प्रतिक्रिया