ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कस्तो छ एनपीएलकाे उपाधि दाबेदार सुदूरपश्चिम रोयल्स ?

मङ्गलबार ११, मङि्सर २०८१ ०८:२९

काठमाडौं । नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ ।

नेपाली क्रिकेट इतिहासमा अलराउन्डतर्फ विश्व क्रिकेट वरियतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन् । सुदूरपश्चिममा जन्मिएका २४ वर्षीय ऐरी टोलीको मार्की खेलाडी हुन् । सुदूरपश्चिममा आइकोनिकसहित सात खेलाडी सुदूरपश्चिम क्षेत्रका खेलाडी छन् ।

मार्की खेलाडी ऐरीसहित विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन् । यस्तै बलर अविनाश बोहरा भने कर्णाली प्रदेशका हुन् । यसबाहेक आरिफ शेख (पर्सा), अर्जनु कुमाल (गुल्मी), इशान पाण्डे र अमित श्रेष्ठ काठमाडौंका खेलाडी छन् ।


ऐरी, आरिफ अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, नरेश बुढाएरले भने राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेसिकेका छन् । सुदूरपश्चिमले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । चार विदेशी खेलाडीमध्ये तीन जना ब्याटिङ अलराउण्डर छन् भने एक जना बलिङ अलराउण्डर छन् । नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका संयुक्त अरब इमिरेट्स ९यूएई० का रोहन मुस्ताफा र स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन छन् ।

त्यसैगरी इङ्ग्लयाण्डको सैफ अली जैब र चेन्नई सुपर किङ्ग्सबाट आईपीएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा आबद्ध छन् । टोलीका दुई युवा खेलाडीले अर्जुन कुमाल र नरेन साउदले भने आफ्नो टोलीको उद्घाटन खेल गुमाउने छन् । उनीहरू नेपाली यू–१९ टोलीबाट एसीसी एसिया कप खेल्न यूएई जाँदै छन् ।

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका जगत् टमाटा छन् । सुदूरपश्चिममा जन्मिएका ६० वर्षीया टमाटाले आफ्नो टोलीले जितका लागि खेल्ने बताए । नेपाली टोलीका सफल प्रशिक्षकका रूपमा परिचित उनले एनपीएलमा आफूले सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउँदै आफ्नो टोलीले सय प्रतिशत दिएर खेल्ने उल्लेख गरे ।

प्रशिक्षक टमाटाले आफ्नो टोलीको तयारी उल्लेख्य रहेको भन्दै सुदूरपश्चिम र नेपाली क्रिकेटलाई माया गर्न सबैलाई आग्रहसमेत गरे । यही नोभेम्बर २७ देखि ३० तारिखसम्म सबै विदेशी खेलाडी नेपाल आइपुग्ने उनले जानकारी दिए । टमाटासँग राष्ट्रिय क्रिकेट टिम पुरुष, महिला सिनियर टोलीदेखि उमेर समूहको टोलीमा प्रशिक्षको भूमिका निर्वाह गरिसकेको अनुभव छ । सुदूरपश्चिम रोयल्सको ओनर भने एम्पायर स्पोर्टस् रहेको छ । त्यस्तै मेन्टरमा अष्ट्रेलियाका ब्राड हज छन् । उनी सोमबार नेपाल आइपुगेका छन् । टोलीको ब्राण्ड एम्बासडरमा भने ओलम्पियन खेलाडी दीपक विष्ट छन् ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा हुन लागेको उक्त नेपाल प्रिमियर लिग हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा सुदूरपश्चिम रोयल्ससँगै काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्सल र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा यही मङ्सिर १५ गते विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै सुदूरपश्चिमले यही मङ्सिर १८ गते विराटनगर किङ्ग्ससँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ एनपीएलको उद्घाटन खेलमा साधारणतर्फ तीन सय र भीआईपीतर्फ सात सय टिकट दर तोकेको छ । त्यसबाहेक अन्य एनपीएलको खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय दर निर्धारण गरिएको छ ।

क्यानले प्लेअफका दिन साधारणतर्फ पाँच सय तथा भीआईपीतर्फ सात टिकट दर तोकिएको जनाएको छ । क्यानले एनपीएलको फाइनलमा भने साधारणतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार मूल्य तोकेको छ । सिजनल टिकटसमेत खरिद गर्न सकिने व्यवस्था रहेको क्यानले जनाएको छ । त्यसका लागि साधारणतर्फ चार हजार चार सय ८० र भीआईपीतर्फ आठ हजार दुई सय ४० निर्धारण गरिएको छ । एनपीएलको टिकट खल्ती एपबाट खरिद गर्न सकिनेछ । रासस

प्रतिक्रिया