धनगढी । प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो ।
जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो । टेक रावत ५ रनमा, खडक बोहरा १९ रनमा र निश्चल क्षेत्री १८ रनमा आउट भए । यतिखेर सुदुरले ३ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो । लगतै सुनिल चन्द पनि ५ रनमा आउट भए।
यसपछि किरणलाई कप्तान नारायण जोशीले साथ दिए । यी दुईले पाँचौं विकेटको लागि अविजित ९६ रनको साझेदारी गरे । किरणले ९१ बलमा ७ चौका र ५ छक्कासहित शतक प्रहार गरे। जारी प्रतियोगिताको यो पहिलो शतक हो । उनले अविजित १ सय २७ रनको तारिफयोग्य पारी खेले। १ सय १ बल खेल्दै ९ चौका र ६ छक्काको मद्दतमा अविजित १२७ रन जोडे। नारायण अविजित ३८ रनमा रहे ।
गण्डकी बलिङमा चुक्यो। उसको लागि विपिन क्षेत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १र१ विकेट लिए । यसअघि देउखुरी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनायो । ओपनर समिर कँडेल २ रनना आउट भए । यसपछि अर्जुन कुमाल र वंश क्षेत्रीले दोस्रो विकेटको लागि ४० रनको साझेदारी गरे । वंश १८ रनमा आउट भए । अर्जुनले अर्धशतकीय पारी खेले । साथै उनले दीपक डुम्रेसँग मिलेर तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे । दीपकले पनि अर्धशतक बनाए। दीपकले सर्वाधिक ६० र अर्जुनले ५७ रनको योगदान दिए। सुदिप अर्याल अविजित २३ रनना क्रिजमा रहे। यसबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।
बलिङमा शेर मल्लले १० ओभरमा १ मेडन सहित मात्र ३३ रन दिएर ३ विकेट लिए । नारायण जोशीले २ विकेट झारे । दोस्रो खेलमा सुदरले पहिलो जितकासाथ २ अंक बनायो । हिजो पहिलो खेलमा सुदुर कर्णालीसँग हारेको थियो । गण्डकीले जितबाट सुरूवात गर्न सकेन ।
प्रतिक्रिया