धनगढी । माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलभित्र १३ महिनादेखि विवाद छ । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएपछि दलभित्रको विवाद सतहमा आएको थियो । धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।
त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउद मात्रै देखिए । तर, अहिले ओली पनि भट्ट समूहमा छन्, जसका कारण अहिले भट्ट र धामी पक्षमा पाँच–पाँच जना सांसद छन् । धामीलाई हटाएर खगराजलाई दल नेता बनाउन अध्यक्ष प्रचण्डले पाँचपटक निर्देशन दिइसकेका छन् । तर, उनको निर्देशन कार्यान्वयन नभएपछि अघिल्लो महिना प्रचण्डले माओवादी केन्द्रका सबै प्रदेश सांसदलाई खुमलटार बोलाएका थिए ।
उक्त छलफलमा पनि प्रचण्डले खगराजलाई दल नेता बनाउने निर्देशन कार्यान्वयन गर्न फेरि निर्देशन दिएका थिए । तर, अझै उक्त निर्देशन कार्यान्वयन भएको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पाँचपटकको निर्देशनसमेत किन कार्यान्वयन भइरहेको छैन सुदूरपश्चिम प्रदेशको संसदीय दलमा ? अध्यक्ष प्रचण्डको मौखिक र लिखित निर्देशन नै अटेरी गर्ने हिम्मत संसदीय दलका सांसदहरूमा कहाँबाट आयो ? अहिले निकै चासोको विषय बनेको छ ।
अध्यक्ष प्रचण्डको पछिल्लो निर्देशनपछि बल्ल संसदीय दलमा नेता हेरफेरको विषयले प्रवेश पाएको छ । यसै आइतबार पहिलोपटक संसदीय दलको नेता हेरफेर गर्नेबारेमा छलफल भयो । उक्त छलफलले निर्णय भने लिएन । झण्डै ६ महिनाभन्दा लामो समयदेखि प्रचण्डले दिएको निर्देशन पहिलोपटक छलफलमा प्रवेश गरेको हो ।
संसदीय दलको नेता हेरफेरमा सुरुमा प्रचण्डले नै ग्रिनसिग्नल दिएका थिए । बुहारी विना मगरनिकट नेताहरूको यो सक्रियतामा भट्टको विकल्पमा धामीलाई अघि सारिएको थियो । तर, प्रचण्डको उक्त ग्रिनसिग्नल अन्तिममा प्रत्युत्यापदक भइदियो । त्यसैले प्रचण्ड अहिले ब्याक हुन खोजिरहेका छन् । हुन त, भट्टलाई पछिल्ला दिनमा उपमहासचिव जनार्दन शर्माको टिममा लागेको पनि भनेर पनि किनारा लगाउने प्रयास भएको छ । भट्ट संसदीय दलको नेता र सुदूरपश्चिम प्रदेशको इञ्चार्जबाट एकसाथ हट्नु परेको थियो । त्यसको विरोध उपमहासचिव शर्माले मात्रै गरेका थिए ।
तर, जब सुदूरपश्चिमको इञ्चार्जमा गिरिराजमणि पोखरेल गए त्यसपछि झन् समस्या बढ्यो । अनि, प्रचण्ड स्वयम् भट्टलाई संसदीय दलमा फर्काउन लागे । पोखरेललाई इञ्चार्जबाट हटाउन अहिले पनि सुदूरपश्चिमका नेताहरू सक्रिय छन् । संसदीय दलका कतिपय सांसदले प्रचण्डसँग सोही अडान राखेर भट्ट र पोखरेलको नाममा बार्गेनिङ गरिरहेको पनि दाबी गरिएको छ । भट्टलाई संसदीय दलमा फर्काएर सुदूरपश्चिमको इञ्चार्ज विना मगरलाई बनाउने प्रचण्डको रणनीति रहेको पनि चर्चा भइरहेको छ ।
पोखरेललाई अहिले नै हटाउँदा भने कारबाही गरेजस्तो हुने भएकाले तत्काल नचलाउने नीति पनि लिएका छन् । वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ समूहका नेता पोखरेलले यसपटक मधेश प्रदेशको इञ्चार्ज हुन खोजेका थिए । मधेशमा मातृका यादव इञ्चार्ज भएपछि श्रेष्ठ स्वयम् असन्तुष्ट देखिएका छन् । माओवादीको तराई मधेश जागरण अभियानको पहिलो दिन सार्वजनिक मञ्चबाट नै असन्तुष्टि पोखेका थिए ।
प्रतिक्रिया