धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ लाई कैलाली उद्योग वाणिज्य संघले साथ दिएको छ । संघले अवार्डलाई प्रबद्र्धकका रुपमा साथ दिएको हो । प्रबद्र्धक सम्बन्धी सम्झौतामा संघका अध्यक्ष पुष्पराज कुँवर र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका वरिष्ठ उपाध्यक्ष शंकर बोहराले हस्ताक्षर गरे ।
सम्झौतापछि अध्यक्ष कुँवरले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताउँदै अवार्डको सफलताको शुभकामना दिए । यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेका छन् । यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए रहेको छ ।
चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशाला र सीपी अस्पतालले पनि प्रायोजकका रुपमा साथ दिएको छ । पूर्वराष्ट्रिय खेलाडी बेनी खड्काले पनि अवार्डलाई सहयोग गरेका छन् । छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिसकेको हो । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् ।
प्रतिक्रिया