डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको छ । क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गौरव ऐर विजयी भए । उनले कूल खसेको ३७५ मध्ये १८४ मत पाए ।
उनको प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी सभापतिमा लडेका थिए । नेविसंघ (वीपी) का बोहरालाई एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियुको समर्थन रहेको थियो । बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार धामीले ५२ मत पाए ।
यस्तै स्ववियु सचिवमा नेविसंघकै बिन्दु साउद र कोषाध्यक्षमा सृजना बिष्ट निर्वाचित भएका छन् । पाँच सय ५२ विद्यार्थी रहेको उक्त क्याम्पसमा तीन सय ७५ मत खसेको थियो ।
यसअघि उक्त क्याम्पसको स्ववियु सभापति नेविसंघकै दुर्गा भट्ट थिए । उनले अहिले पनि चुनाव लडेका नेविसंघ (वीपी) का मदन बोहरालाई हराएका थिए । डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।
प्रतिक्रिया