ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नागरिक उन्मुक्तिमा उकुसमुकुस, पार्टी एकताबारे अनजान नेता–कार्यकर्ता

सोमबार २५, चैत २०८१ ११:२२

धनगढी । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको सहमति भइसकेको छ । १५ वैशाखमा घोषणाको तयारी छ । एकतापछि पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने सहमति भएको छ । 

पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने सहमति छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ । चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ भने पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिएको छ  । 

नागरिक उन्मुक्तिको प्रभाव कैलाली र बर्दियामा बढी छ । दुई पार्टीबीच एकताको सहमतिले नागरिक उन्मुक्तिका कार्यकर्ता भने अन्योलमा छन् । प्रदेशसभा सदस्यसमेत रहेका नागरिक उन्मुक्ति कैलालीका संस्थापक अध्यक्ष कैलाश चौधरीले एकताबारे समाचारबाट मात्रै थाहा पाएको बताए । ‘कार्यकर्ताबीच पनि अनौपचारिक बसाइँका क्रममा छलफल भएको थियो,’ उनले भने, ‘सबैको अन्योल एकनासकै छ । कोही पनि प्रस्ट छैन ।’

उक्त पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष पतिराम चौधरीले सबै कुरा माथिल्लो तहमै भइरहेकाले केही बताउन नसक्ने अवस्थामा रहेको सुनाए । जिल्ला तहका कार्यकर्ताले सोधिरहेको बताउँदै उनले जवाफ दिने अवस्था नरहेको बताए । 

नागरिक उन्मुक्तिका कैलाली जिल्ला अध्यक्ष प्रदीप चौधरीले पार्टीको तल्लो संरचनामा कुनै छलफल नभएकाले अन्योल बढेको बताए । 
 

प्रतिक्रिया