टीकापुर । कैलाली प्रहरीले चालु आर्थिक वर्षको हालसम्म लागुऔषध कारोबार र सेवनमा संलग्न पाँच सय ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँच सय १९ जना पुरुष र ३१ जना महिला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरिक्षक लोकराज जोशीका अनुसार पक्राउ परेकामध्ये कतिपय अदालतबाट छुटेका छन् भने अधिकांश कारागार चलान भएका छन् ।
प्रहरी निरिक्षक जोशीले पछिल्लो समय पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भइहेको बताए । ‘कतिपय अदालतबाट छुटेको होलान, कतिपय अनुसन्धानकै क्रममा छन्,’ उनले भने, ‘अधिकांश भने कारागार चलान भएका छन् ।’
प्रहरीका अनुुसार लागुऔषध सम्बन्धी सबैभन्दा धेरै मुद्धा पुस महिनामा दर्ता भएका छन् । प्रहरीले पुस महिनामा ५९ मुद्धा दर्ता गरेकोमा ८३ जना पक्राउ परेका छन् । जसमध्ये ८२ पुरुष र एक जना महिला रहेका छन् ।
प्रहरीले माघ महिनामा पनि पुस महिनाकै हाराहारीमा लागुऔषध कारोबारी र सेवनकर्ता पक्राउ परेको जनाएको छ । प्रहरीका अनुसार माघ महिनामा ७१ जना पुरुष र १० जना महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको तथ्यांकअनुसार लागुऔषध कारोबार र सेवन गर्नेहरुको संख्या डरलाग्दो ढंगले बढिरहेको छ । तथ्यांकअनुसार साउन महिनामा ४३ पुरुष र एक महिला, भदौ महिनामा ३२ पुरुष र एक महिला, असोज महिनामा ५२ पुरुष र सात महिला, कात्तिक महिनामा ६७ पुरुष र दुई महिला, मंसिर महिनामा ६४ पुरुष र दुई महिला पक्राउ परेका छन् ।
त्यस्तै फागुन महिनामा ५६ पुरुष र चार महिला, चैत महिनाको २४ गतेसम्म ५२ पुरुष र तीन महिला पक्राउ परेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।
प्रहरी टोलीले पछिल्लो आइतबार राति मात्रै तीन ग्राम ७६० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर स्थित एनएस होटलबाट पक्राउ गरिएको हो । सो होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा होटलमा छापा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ८ का २० वर्षका सुरेश बिष्ट, कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १० का २३ वर्षका लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का १९ वर्षका रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोककी १८ वर्षकी आशिका सिजापती रहेका छन ।
यसरी पक्राउ पर्नेमा अधिकांश युवायुवती छन् । प्रहरीका अनुसार कतिपय बालबालिकासमेत पक्राउ परेका छन् । पक्राउ परेकाहरु लागुऔषध कारोबार र सेवन दुबै कार्यमा संलग्न रहेको पाइएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषधमध्ये कडा मानिएको खैरो हेरोइन बढी बरामद भइरहेको जानकारी दिएको छ ।
प्रहरीले खैरो हेरोइनको कारोबारमा वृद्धि भइरहेको जनाएको छ । केही वर्ष अघिसम्म खैरो हेरोइन बरामद भएका घटना न्यून रहे पनि विगत एक वर्ष यता अधिकांश घटनामा खैरो हेरोइन बरामद भइरहेको प्रहरीको भनाई छ । प्रहरीले खैरो हेरोइनको कारोबार वृद्धि भएसँगै सेवन गर्नेको संख्या समेत बढेको जनाएको छ ।
‘खुला सीमानासँगै सहजै भित्रिन्छ । जसले सेवनकर्ताको संख्या बढाएको छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘प्रहरीले रोकथामको पहल गरिरहेको छ ।’
कैलाली लागुऔषध दुव्र्यसन ओसारपसार हुने प्रमुख जिल्ला मध्ये पर्न थालेको छ । भारतीय सीमा क्षेत्रमा रहेका बजारमा सहजै पाइने लागुऔषधले नेपाली युवायुवतीहरु दुव्र्यसनमा फस्ने क्रम बढेको छ । उनीहरुले खुला सीमा नाकाका कारण सहजै लागुऔषध नेपाल भित्र्याउने गरेको पाइएको छ ।
प्रहरीका अनुसार लागुऔषधको सेवनले समाजमा अपराधिक घटना समेत बढेका छन् । लागुऔषध सेवनमा बढेको युवायुवती मोह प्रहरीका लागि चुनौतीको विषय बन्न थालेको छ ।
प्रतिक्रिया