ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
पाँच पटक म्याद थप, काम नगर्ने ठेकेदारलाई कारबाहीको साटो उन्मुक्ति

सेती प्रादेशिक अस्पतालको भवन निर्माण कार्य सात वर्षदेखि अलपत्र

शुक्रबार १४, मङि्सर २०८१ ०५:५९

निर्माण कम्पनीको चरम लापरबाहीका कारण सेती प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको काम अलपत्र परेको छ । साढे दुई वर्षभित्र निर्माण गर्ने शर्तसहित २०७४ कार्तिकमा ठेक्का सम्झौता गरेको रविना–थेगिम जेभीले सात वर्षसम्म भवन निर्माण गरेको छैन । शर्तअनुसार काम नगरेको निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो सम्बन्धित निकायले पटकपटक म्याद थप गर्दै आएको छ ।

अहिले लामो समयदेखि निर्माण कम्पनीले काम गरेको छैन । सम्झौताको शर्तअनुसार काम भएको भए २०७७ बैशाखमै भवनको निर्माण भइसक्थ्यो । तर भवनको संरचना तयार भए पनि झ्याल–ढोका लगाउने, टायल–मार्बल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, पानी र बिजुली जडानको काम भएका छैनन् । नेपाल सरकारको संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीअन्तर्गत १८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो ।

‘फिनिसिङका कामहरु बाँकी छन् । निर्माण कम्पनीले काम गरिरहेको देखाउनका लागि कहिलेकाँही अलिअलि काम गर्छ’ संघीय आयोजना कार्यान्वय इकाइका सूचना अधिकारी सौरभ कलौनीले भने, ‘काम पूरा गर्न ताकेता गर्दै आएका छौँ तर निर्माण कम्पनीले काम गर्दैन ।’ 

भवन निर्माणका लागि पाँच पटक म्याद थप भएको छ । पाँच पटक म्याद थप गर्दासमेत काम पूरा नगरेको निर्माण कम्पनीलाई कारबाही भने हुन सकेको छैन । नेपाल सरकारले हालै सार्वजनिक खरिद ऐनमा १३ औं संशोधन गरी सबै रुग्ण योजनाको म्याद २०८१ चैतसम्म थपेपछि निर्माण कम्पनीले पनि अस्पताल भवन बनाउन थप समय पाएको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रविना–थेगिम जेभीले ठेक्का पाए पनि पेटी ठेक्कामार्फत् हरिहर पन्तले काम गरिरहेका छन् । ‘भवन निर्माणको काम मुल ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिएको र पेटी ठेकेदारले काम नगरिदिएको देखिन्छ’ आयोजनाका एक कर्मचारीले भने, ‘तर रविना–थेगिमसँग ठेक्का भएकाले भवन निर्माणमा ढिलाइ गरेको जिम्मा कानुनीरुपमा उसैको हो र कारबाहीको भागीदार पनि सम्बन्धित कम्पनीनै हुने हो । पेटी ठेकेदारले काम गरिदिएन भनेर उम्कन मिल्दैन ।’ 

निर्माण कम्पनीले समयमा काम नगरेपछि आयोजना कार्यालयले डेढ वर्षदेखि भुक्तानी भने रोकेको छ । कार्यालयले २०८० साउनबाट निर्माण कम्पनीलाई ठेक्का रकमको ०.०५ प्रतिशतका दरले दैनिक जरिवाना लगाएको कलौनीले बताए । ‘यो म्यादमा पनि ठेक्का पुरा नगरे ठेक्का तोडेर अर्को प्रक्रियामा जान्छ,’ उनले भने, ‘पाँचौैं पटकसम्म दिएको म्यादमा काम नगरेपछि जरिवाना तोकेको हुनाले डेढ वर्षदेखि भुक्तानी भएको छैन ।’ 

अस्पताललाई सेवा विस्तार गर्न समस्या

लामो समयसम्म भवन निर्माणको काम पूरा नहुँदा सेती प्रादेशिक अस्पताललाई सेवा विस्तारमा समस्या भइरहेको छ । सेवाग्राहीको बढ्दो चापले साविककै संरचनाबाट सेवा दिन समस्या भएपछि अस्पतालले अधुरो भवनको भुइँतलाको केही कोठा प्रयोग गरेर ओपिडीलगायत सेवा सुरु गरेको छ ।

नयाँ भवनको निर्माण पुरा नहुँदा प्रसुति, एनआइसियुलगायत विस्तार गर्न समस्या भएको अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका प्रवक्ता डा.खगेन्द्रराज भट्टका अनुसार ठाउँ अभावका कारण पुरानो जीर्ण भवनमा रहेको प्रसुति वार्ड सार्न सकिएको छैन । ‘करिब ५० वर्ष पुरानो जीर्ण भवनमै प्रसुति सेवा दिइरहेका छौँ । त्यहाँ बर्खामा पानी जम्छ’ उनले भने, ‘नयाँ भवन बनेको भए त्यहाँ सारेर सुरक्षित सेवा दिन सहज हुन्थ्यो ।’

निर्माणाधीन भवनका ६ वटा ब्लकमा ओपिडी, सुत्केरी वार्ड, लेबर वार्ड, रिकोभरी वार्ड, सुत्केरी अप्रेसन कक्ष, एनआइसियुलगायतका वार्डहरु बनाउने गरी डिजाइन गरिएको छ । यसअघि ओपिडी भवन सञ्चालन हुँदै आएको भवन मुख्य बजारको सडक विस्तारका क्रममा भत्काउनु परेपछि अस्पतालले निर्माणाधीन भवनमै ओपिडी, रेडियोलोजीलगायतका सेवा दिन थालेको पनि करिब दुई वर्ष भएको छ । 

भवन निर्माणमा ढिलाइ हुन थालेपछि अस्पतालले पनि निर्माण कम्पनीलाई पटकपटक बोलाएर भवन निर्माणको काम चाँडै पुरा गरिदिन आग्रह गरेको डा. भट्टले बताए । ‘प्रशासनमा समेत बारम्बार छलफल ग¥यौँ, ठेकेदारले छिट्टै काम गर्ने प्रतिवद्धता जनाउँछ तर काम गरिदिन्न’ उनले भने । नयाँ भवनको भुँइतलाबाट केही सेवाहरु दिए पनि त्यहाँ पानीको व्यवस्थापन छैन ।

नयाँ भवनको योजना अन्योलमा

२०३९ सालमा सरकारबाट ५० शैय्याको अनुमति पाएको सेती प्रादेशिक अस्पतालले निजि स्रोतबाट समेत गरी हाल एक सय २५ शैय्यामा सेवा दिइरहेको छ । अस्पतालको सेवालाई तीन सय शैय्यामा विस्तार गर्न सुदूरपश्चिम प्रदेश सरकारले अस्पतालको पुरानो भवनलाई भत्काएर नौ तलाको नयाँ भवन बनाउन विस्तृत आयोजना प्रतिवेदन बनाएको छ । 

त्यसका लागि संघ र प्रदेशबाट गरी करिब १८ करोड रुपैयाँ विनियोजन भएको भए पनि निर्माणाधीन भवन पूर्णरुपमा प्रयोग गर्न नपाउँदा उक्त योजना कार्यान्वयनमा बाधा पुगेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका व्यवस्थापक वेद जोशीले जोशीले पुराना भवनमा रहेका वार्डहरु सार्ने ठाउँ नहुँदा नयाँ भवन निर्माणको काम अगाडि बढ्न नसकेको बताए ।

प्रतिक्रिया