ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम महोत्सवमा यसपटक के छ नयाँ ?

आइतबार २१, मङि्सर २०८२ ०५:१७
  • आयोजक भन्छ– महोत्सव प्रदेशको पहिचान, प्रवर्द्धन र आर्थिक उन्नतिको उत्सव हुनेछ

धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग–व्यापार, कला–संस्कृति र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यसहित कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ यसवर्ष १९औँ संस्करणका रूपमा हुँदैछ। 

२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको महोत्सव सोमबारदेखि धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुँदै छ । महोत्सवबारे जानकारी गराउन आज महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्करराज ओझाले यसवर्षको महोत्सव प्रदेशको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक पहिचानलाई उजागर गर्ने महत्वपूर्ण अवसरका रूपमा रहने विश्वास व्यक्त गरे।


कृषि, प्रविधि र व्यवसायिक विकासमा विशेष जोड

यो संस्करणमा ‘बृहत् व्यवसायिक कृषि प्रदर्शनी’ मुख्य आकर्षण बन्नेछ। अध्यक्ष ओझाका अनुसार कृषिमा आएको प्रविधि र नवप्रयोगलाई व्यवसायसँग जोड्दै किसान तथा उद्यमीलाई व्यवहारिक फाइदा पुर्‍याउने उद्देश्यले विशेष स्टलहरु राखिएका छन्।

कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, सूचना–प्रविधि लगायतका ५०० भन्दा बढी स्टल महोत्सवमा रहनेछन्। जसको सबै बुकिङ सकिएको संघले जनाएको छ।

कला–संस्कृति र स्थानीय उत्पादनलाई प्राथमिकता

सास्कृतिक रूपमा धनी सुदूरपश्चिमका नृत्य, गीत, परम्परा, पहिरन र परिकारलाई महोत्सवमा विशेष स्थान दिइनेछ। स्थानीय कलाकार, उद्यमी र महिला समूहका उत्पादन स्टललाई प्राथमिकता दिइंदै प्रदेशकै मौलिकता प्रस्तुत गरिने संघका सचिव तथा सास्कृतिक संयोजक प्रकाश चन्दले बताए ।

महोत्सवस्थलमा सुदूरपश्चिमका परिकार र स्वदेशी खानाका स्टल आकर्षण हुने अपेक्षा गरिएको छ। 

सुरक्षा, व्यवस्थापन र भव्य तयारी

महोत्सवमा प्रवेश गर्ने दर्शक तथा व्यवसायीको सुरक्षा सुनिश्चित गर्न अत्याधुनिक सीसी क्यामेरा, निजी र सरकारी सुरक्षाकर्मीको पर्याप्त व्यवस्था गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दमकल, प्राथमिक उपचार टोली तथा बीमाको तयारी गरिएको छ।

७ लाख अवलोकनकर्ता आउने अनुमान
तीन करोड लागतको अनुमान गरिएको छ भने महोत्सवमा करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ।

यसपटक करिब ७ लाख दर्शक महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। बालबालिका तथा खेलप्रेमीलाई लक्षित नयाँ एक्स्प्लोर गेम जोन महोत्सवको आकर्षणमध्ये एक हुने अपेक्षा आयोजकको छ।

सामाजिक उत्तरदायित्व महोत्सवको आय सामाजिक क्षेत्रमा
महोत्सव केवल व्यापारिक कार्यक्रम नभई सामाजिक उत्तरदायित्व बोकेको आयोजकले जनाएको छ। प्रत्येक संस्करण जस्तै यसवर्ष पनि टिकटको केही रकम महिला सशक्तीकरण, लागुऔषध दुरुपयोग नियन्त्रण तथा सामाजिक क्षेत्रमा प्रदान गरिनेछ।

विद्यार्थीका लागि टिकट दर ५० रुपैयाँ, सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि प्रवेश निःशुल्क हुने छ। संघका सदस्यका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ।

डिजिटल प्रवर्द्धन स् इसेवासँग अनलाइन टिकट साझेदारी

डिजिटल भुक्तानी प्रवर्द्धन गर्न यसवर्ष महोत्सवलाई इसेवासँग अनलाइन टिकट पार्टनरसिपमा लगिएको छ। मोबाइलबाटै अनलाइन टिकट खरीद गर्न सकिने व्यवस्था रहेको संघले जनाएको छ । 

महोत्सव प्रदेशकै पर्व, सबैलाई सहभागिताको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ तथा महासंघको सुदूरपश्चिम प्रदेश संरक्षकको भूमिकामा रहेकाले महोत्सव संस्थागत रूपमा अझ मजबुत भएको आयोजकले जनाएको छ। समग्र सुदूरपश्चिमको साझा उत्सवका रूपमा महोत्सवलाई सफल बनाउन २३ उपसमिति गठन गरी तयारीका अधिकांश काम सकिएको अध्यक्ष ओझाले जानकारी दिए।

पत्रकार, राजनीतिकदल, सरकारी–गैरसरकारी संस्था, विद्यार्थी, उद्यमी, व्यवसायी तथा सर्वसाधारण सबैलाई सहभागिता जनाई महोत्सव सफल बनाउन आयोजकले आह्वान गरेको छ। महोस्वको भोलि अर्थमन्त्री रामेश्वर खनालले उद्धाटन गर्ने कार्यक्रम छ। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया