ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

`प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता´ सम्पन्न, कैलाली प्रथम

शनिबार ३०, चैत २०८१ ०७:१३

धनगढी । चैत २७ गतेदेखि धनगढी रंगशालामा संचालन भएको `प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१´ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढीमा आयोजित सो प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका करिब ७०० खेलाडी, ५० रेफ्री तथा प्रशिक्षक र व्यवस्थापक गरी ८०० भन्दा बढी करातेकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा २५ स्वर्ण पदक प्राप्त गर्दै कैलाली जिल्लाले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने १८ स्वर्णका साथ कंचनपुर जिल्ला द्वितीय र तीन स्वर्णसहित अछाम जिल्ला तृतीय हुन सफल भएको छ l 

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउबाले बिजयी खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । समारोहमा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनार, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री लगायत विभिन्न खेल संघसंस्थाका पदाधिकारीहरु, प्रशिक्षकहरु, सरकारी कर्मचारी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्वतेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक उपाध्यायलाई सामाजिक कार्यमा उत्कृष्ट सेवाकार्य गरेवापत नगदसहित सम्मान गरिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारद्वारा स्वास्थ्य दूत पदमा नियुक्त भएका उपाध्यायले हालसम्म १०८ पटक रक्तदान गरिसकेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय कराते खेलाडी पुष्पा मडैलाई पनि सम्मानित गरिएको थियो । उनी हाल जापानमा हुँदा उनका बुवाले उक्त सम्मान ग्रहण गरेका थिए ।

प्रमुख अतिथि पूर्वमन्त्री देउवाले खेलकुदले व्यक्तिलाई अनुसाशित बनाउने हुँदा छुट्टै महत्व रहेको तर सुदूरपश्चिमको खेलकुदमा भौतिक पूर्वाधार समस्या रहेको बताए । यसअघि चैत २७ गते प्रतियोगिताको उद्घाटन प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए ।

प्रतिक्रिया