धनगढी । सुदूरपश्चिम प्रदेश, त्यसको पनि हिमाली जिल्ला बझाङ । र, बझाङको पनि सर्वाधिक विकटमा छ, साइपाल गाउँपालिका । उक्त गाउँपालिकाको ४ नम्बर वडामा रहेको छ, धुली गाउँ ।
उत्तरी बझाङको अन्तिम मानव बस्ती रहेको त्यो गाउँमा जन्मिएर कसैले सगरमाथा चढ्छु भन्दा धेरैलाई विश्वास नै लाग्दैन ।
त्यसमा पनि धुलीकी चेलीलाई त सगरमाथा आरोहण गर्ने सपना देख्न पनि छुट छैन भन्दा हुन्छ । छाउपडी प्रथाका कारण महिलाले हिमाल चढ्न हुन्न भन्ने मान्यता धुलीमा विद्यमान छ । तर, धुलीकी संगीता रोकायाले भने त्यो सबै परिबन्धलाई तोड्दै २६ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको टाकुरोमा पाइला टेक्न सफल भइन् ।
२०८० जेठ ३ गते दिउँसोको साढे १२ बजेको थियो । संगीता सगरमाथाको टाकुरोमा पाइला टेक्न सफल भइन् । ‘त्यो दिन त म कहिल्यै पनि बिर्सिन सक्दिन,’ उनले भनिन्, ‘वर्षौंदेखिको सपना पूरा भएको थियो । चुचुरोमा पुग्ने बित्तिकै ठुलो स्वरले रोएकी थिए ।’
शिखर चुमेपछि उनी ३० मिनेटसम्म त्यहीँ थिइन् उनी । ‘२ गते नै सगरमाथाको चुचुरोमा पाइला टेक्नुपर्ने थियो,’ उनले भनिन्, ‘तर, त्यो दिन मौसममा आएको खराबीका कारण हामी क्याम्पबाट बाहिर निस्किन सकेनौं । जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेका थियौं । ३ गते मात्रै चुचुरोमा पाइला टेक्न सक्यौं । आरोहण सफल हुने बित्तिकै सबैभन्दा पहिले बुवालाई सम्झिए । उहाँकै सहयोगले आरोहण सफल भएको थियो ।’
संगीताले ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा आरोहण गरेकी हुन् । उनी सर्वोच्च शिखरको टाकुरोमा पाइला टेक्ने पहिलो बझाङी पनि हुन् । ‘सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेकी थिए,’ उनले भनिन्, ‘सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गराइएको थियो ।’
संगीताले सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लागेको अनुभव सुनाइन् । ‘पायोनियर एड्भेन्चर कम्पनीलाई आधा रकम पछि तिर्ने शर्तमा सगरमाथा आरोहण गरेकी हुँ,’ उनले भनिन्, ‘सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख खर्च लागेको थियो ।’
साइपालमा हुर्के बढेकी संगीताले हिमाल चढ्ने सपना भने सानैमा देखेकी थिइन् । ‘६–७ कक्षामा अध्ययन गर्ने क्रममा मेरो गाउँमा कहिलेकाँही पर्यटक आउने गरेका थिए,’ उनले भनिन्, ‘ती पर्यटकले टेन्टमा बसेको देखेर मलाई निकै जिज्ञासा लाग्ने गरेको थियो । हिमाल चढ्नेहरु कस्ता हुन्छन् भन्ने मनमा जिज्ञासा लाग्थ्यो । सोही समयदेखि हिमाल चढ्ने सपना पनि बुन्न थालेकी थिए । तर, साइपालमा शिक्षा र जनचेतनाको कमीका कारण त्यो सपना पूरा गर्न भने सहज थिएन । तर निरन्तरको प्रयासले म सफल भए ।’
हुन् त संगीताको हिमाल चढ्ने यात्राको आरम्भ सगरमाथा आरोहणभन्दा पाँच वर्षअघि नै भइसकेको थियो । महिलाले हिमाल चढ्न हुन्न भन्ने मान्यताविरुद्ध २०७५ कात्तिकमा उनी आफ्नै गृहजिल्लाको साइपाल हिमाल चढ्ने यात्रामा निस्किन् । संगीतासंगै बझाङका चार चेलीहरु सरस्वती थापा, लक्ष्मी बुढा र पवित्रा बोहरा पनि थिए । साइपालको सफल आरोहण गरेर अन्धविश्वासलाई तोड्ने संकल्प गरेका थिए उनीहरुले । टिममा स्पेन, इटाली र अमेरिकाका विख्यात आरोहीहरू पनि थिए । तर, साइपाल चुम्ने प्रयास भने सफल हुन सकेन ।
मिसन साइपाल नामाकरणसहित सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहणका लागि गएको टोली हिमपात हुन थालेपछि चुचुरोमा नपुगी फर्किएको थियो । दुई विदेशी र चार शेर्पाको आरोही टोली छ हजार आठ सय मिटरसम्म पुगको थियो भने संगीतासहित बझाङका चार चेलीहरु पाँच हजार छ सय मिटर उचाईबाट नै फर्किएका थिए । साइपाल हिमाल आरोहण हालसम्म कसैले पनि गर्न सकेको छैन ।
साइपाल चुम्न नसके पनि संगीतालाई भने हिमाल चढ्ने भोक मेटिएको थिएन । सोही भोकका कारण उनी सगरमाथा चुम्न सफल भएको बताउँछिन् । सगरमाथा आरोही संगीताको लक्ष्य भने फेरि पनि सुदूरपश्चिमका अपी र साइपाल हिमाल चढ्ने पनि छ । ‘साइपाल चढ्ने प्रयास एकपटक असफल भए पनि फेरि पनि प्रयास जारी राख्ने योजना छ,’ उनले सुनाइन्, ‘साइपाल र अपीको सफल आरोहरण पनि हाम्रै पालमा हुनुपर्छ भन्ने मान्यता छ मेरो ।’
संगीताको अर्को लक्ष्य पनि छ । आठ हजार मिटरभन्दा बढी उचाइका विश्वका १४ वटै हिमाल चढेर रेर्कड कायम गर्ने । सोही लक्ष्यअनुसार उनले आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको पनि सफल आरोहण गरिसकेकी छिन् । मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । ‘हाम्रो टोलीले २०८० सालको असोज ४ गते बिहान ५ बजेर २० मिनेटमा मनास्लु शिखर आरोहण गरेको हो,’ उनले भनिन्, ‘अब आठ हजारभन्दा बढी उचाइ भएका १२ हिमालको आरोहण बाँकी छ ।’
संगीताले मर्यादीत महिनाबारीको अभियान्ताको रुपमा पनि आफ्नो परिचय बनाएकी छिन् । सोही अभियानअन्तर्गत उनले सगरमाथा र मनास्लु आरोहण गर्दा पनि ‘छाउपडी प्रथा अन्त्य गरौँ’ भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गरेकी थिइन् । ‘महिलाले हिमाल चढ्दा देवता रिसाउँछन् भन्ने मान्यता समाजमा विद्यमान थियो,’ उनले भनिन्, ‘मैले त्यो मान्यतालाई तोड्दै दुई हिमालको आरोहण सफल गरेपछि अवस्था केही सुधार भयो होला भन्ने विश्वास छ ।’
उनले हिमाल चढ्नबाहेक सुदूरपश्चिमका महिलाहरुका लागि पनि छुट्टै योजना बनाएकी छिन् । ‘अहिलेको मुख्य उद्येश्य त आठ हजार मिटरभन्दा बढी उचाइका विश्वका १४ वटा हिमाल (फोर्टिन पिक) तथा अपी र साइपाल चढ्नै नै हो,’ उनले भनिन्, ‘त्यो उद्येश्य पूरा गर्न मलाई केही वर्ष लाग्छ । त्यसपछि सुदूरपश्चिमकै महिलाहरुको उत्थानका लागि काम गर्ने योजना बनाएकी छु ।’
संगीताका अनुसार अहिले पनि सुदूरपश्चिमका अधिकांश महिला चुलोचौकीमै सीमित छन् । ‘शिक्षा र चेतनाको कमीले महिलाहरुका धेरै सपना पूरा भएका छैनन्,’ उनले भनिन्, ‘छाउपडीले नै महिलाहरुलाई बन्धनमा बाँधिदिएको छ । तर त्यो बन्धनबाट मुक्त गराउनका लागि काम गर्ने योजना मेरो छ ।’
प्रतिक्रिया