बैतडी । विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिबार साँझ दार्चुलाको गोकुलेश्वरस्थित चौलानी बोडिङ्ग स्कुलको प्रचारप्रसारमा गएका शिक्षकको महाकाली राजमार्ग अन्तरगत बैतडीको डिलाशैनी गाउँपालिका ६ बाँगावगरमा बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।
गोकुलेश्वर बजारबाट बैतडीको दोगडाकेदार गाउँपालिका सिमानातिर गइरहेको उक्त विद्यालयको सु.प्र ०४, ००१क ०००९ नम्बरको बसको ढोकाबाट खस्दा दोगडाकेदार गाउँपालिका ४ का २६ वर्षीय विष्णुदत्त भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर प्रहरी निरीक्षक किशोर ऐरीले बताए ।
विद्यार्थी भर्नाको प्रचारप्रसार बाट फर्कँदै गर्दा शनिवार साँझ सवा ५ बजेतिर शिक्षक भट्ट बसको ढोकाबाट खसेर घाइते भएका थिए । उनलाई नजिकैको गोकुलेश्वर अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक ऐरीले बताए ।
बस र चालक इलाका प्रहरी कार्यालय गोकुलेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया