ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमाले अछामको अधिवेशनकै मुखमा पार्टी परित्यागको लहर

आइतबार ०७, बैशाख २०८२ ०१:०८

धनगढी । नेकपा एमालेको अछाम जिल्ला कमिटीको अधिवेशन नजिकिदै गर्दा एमालेमा पार्टी परित्यागको लहर चलेको छ ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको लेखा समिति सदस्य बालागिरी कुँवरसहित ७१ जनाले आइतबार एमाले परित्याग गरेका हुन् । उनीहरुले डा. भीमबहादुर रावलले सञ्चालन गरेको ‘मातृभूमि जागरण अभियान’ मा जोडिएका छन् ।

एमाले अध्यक्ष केपी शर्माओलीको गुटको राजनीति र कार्यशैलीबाट समाजवाद हुँदै साम्यवादमा जाने बाटो बन्द भएको, एमालेभित्रको आन्तरिक लोकतन्त्र समाप्त भएको, जनवाद समाप्त भएको, निरंकुशता हाबी भएको, नेताहरुले लोकतान्त्रिक मुल्यमान्यताको उलंघन गरेको, भ्रष्टाचारको अभियोग लागेका नेतालाई पार्टीले संरक्षण गरेको, भ्रष्टाचार, ठूला व्यवसायी, सरकारी ठेक्कापट्टा र आर्थिक घोटालामा एमालेका नेताहरु संलग्नता बढेको, सर्वहारा वर्गको पक्षमा आवाज उठाउन छोडेको लगायतका कारणले एमाले परित्याग गर्नुपर्ने अवस्था आएको उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा जुनसुकै पार्टीमा भएपनि इमान्दार, देशभक्त नेता, कार्यकर्ताहरुलाई देशको वैकल्पिक शक्ति स्थापित गर्न, भ्रष्टाचार अन्त गर्न, राष्ट्रियताको संरक्षण गर्न, जनमुखी विकास निर्माण, सुशासन र समृद्ध नेपाल निर्माण गर्न डा. रावलको अभियानमा जोडिन आव्हान गरेका छन् ।

एमाले छोडेर मातृभूमि अभियानमा संलग्न हुनेमा नेकपा एमालेका अछाम जिल्ला कमिटी सदस्य, नगर कमिटी सदस्य, वडा कमिटी सदस्य, गाउँ कमिटीका पूर्व पदाधिकारी तथा सदस्यहरु छन् । 

यसैगरी, नेकपा एकीकृत समाजवादीका पाँच जना नेता कार्यकर्ताहरुले पनि पार्टी छोडेर डा. रावलको अभियानमा जोडिएका छन् ।

एमालेले अछाम जिल्ला कमिटीको अधिवेशनका लागि शनिबार मात्रै भूगोल, क्षेत्र र कलस्टरबाट प्रतिनिधि छनोट गरेको थियो । एमालेको नवौं जिल्ला अधिवेशन बैशाख १३ देखि १५ गतेसम्म मंगलसेनमा हुने बताइएको छ । 

प्रतिक्रिया