टीकापुर । कैलालीको टीकापुरमा रहेका मासु व्यवसायीहरु आन्दोलित भएका छन् । प्रहरीले दुःख दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले व्यवसाय बन्द गरेका छन् ।
प्रहरीले बेलाबेलामा दुःख दिने गरेको आरोप उनीहरुले लगाएका छन् । प्रहरीले हिजो मात्रै एक व्यवसायीले गाउँबाट खरिद गरेर ल्याएको दुई वटा खसी समात्दै भन्सार कार्यालय बुझाएको छ ।
व्यवसायी कलिम कुरेसीले जोशीपुर गाउँपालिका लक्कडबाट खरिद गरेर ल्याउँदै गरेको खसी प्रहरीले टीकापुर नगरपालिका वाणीस्थित पुलबाट समातेको थियो । इलाका प्रहरी कार्यालय टीकापुरको घुमुवा टोलीले खसी नियन्त्रणम लिएको थियो ।
घुमुवा टोलीले ती खसीहरु भारतबाट चोरी निकासी गरेर ल्याएको दाबी गरेको छ । प्रहरीले सत्ती भन्सार कार्यालयलाई खसी बुझाएको पत्रमा ती खसीहरु भारतबाट चोरी निकासी गरेर ल्याएको उल्लेख गरेको छ ।
भारतबाट चोरी निकासी गरेर ल्याएको पत्रसहित प्रहरीले खसी बुझाएपछि भन्सार कार्यालयले हिजै लिलाम गरेको छ । बरामद पशु चौपाया पक्राउ परेको २४ घण्टाभित्र लिलाम गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
मासु व्यवसायीले आफै लिलाम बोलेका छन् । उनले खसी र मोटरसाइकल लिलाम सकारेबापत ५० हजार रुपैयाँ तिर्नुपरेको बताए । उनले ती खसी ४२ हजार पाँच सय रुपैयाँमा खरिद गरेका थिए ।
मासु व्यवसायीले प्रहरीलाई सत्यतथ्य बुझेर मात्रै भन्सार बुझाउन आग्रह गरेका थिए । प्रहरीले उनीहरुको आग्रहलाई बेवास्ता गरेको व्यवसायीको गुनासो छ । ‘प्रहरीले हाम्रो कुरै सुनेन,’ मासु व्यवसायीले कुरेसीले भने, ‘प्रहरीले बेलाबेलामा दुःख दिइरहन्छ ।’
मासु व्यवसायीले प्रमाणस्वरुप खसी बेच्ने व्यक्तिलाई समेत इलाका प्रहरी कार्यालय टीकापुर र भन्सार कार्यालयमा समेत उपस्थित गराएका थिए । उनले प्रहरी समक्ष आफैले बेचेको भनेका पनि थिए । उनीसँगै छिमेकी समेत रहेका गाउँका बडघर समेत थिए । उनले समेत आफ्नै सामुन्ने खसी खरिद बिक्री भएको बताएका थिए ।
स्रोतका अनुसार हिजोको घटनामा पनि प्रहरीले मासु व्यवसायीसँग आर्थिक अपेक्षा राखेको थियो । तर मासु व्यवसायीले प्रहरीको अपेक्षालाई तत्काल पुरा गर्न सकेन । जसको परिणाम स्वरुप प्रहरीले मासु व्यवसायीलाई चोरी निकासीको आरोप लगाएर दुःख दिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरिक्षक इश्वर गिरीले मोटरसाइकलमा खसी बोकेर ल्याउने व्यक्तिसँग कुनै कागजात नभएका कारण बरामद गरेको बताए । उनले भारतबाट चोरी निकासी भएको आशंकामा खसी नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाइएको बताए । उनले थप अनुसन्धान गर्ने जिम्मा भन्सार कार्यालयको भएको बताए । ‘हामीलाई शंका लागेर नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘थप अनुसन्धान गर्ने काम भन्सारको हो । उसले गर्नुपर्ने हो ।’
उनले प्रहरीले बेलाबेलामा दुःख दिने गरेको मासु व्यवसायीको आरोपमा सत्यता नभएको बताए ।
प्रतिक्रिया