धनगढी । ०८० साउन २२ गते रातिको अविरल वर्षापछि गएको पहिरोका कारण सडक भासिएपछि भीमदत्त राजमार्ग पूर्णरुपमा अवरुद्व भयो । राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ को बुढीतोलामा पहिरोले झण्डै पाँच सय मिटर सडक नै बगाइदिएको थियो । एक सातासम्म डोजर लगाएर अवरुद्व सडक सुचारु गरिए पनि दुई वर्षसम्म सडक पुर्ननिर्माणको काम भने भएको छैन ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर चित्र चौलागाईका अनुसार पहिरोले सडक बगाएपछि सडक विभागबाट अध्ययन टोली नै आएको थियो । ‘अध्ययनका क्रममा जमिनमुनि पानीको मुहान भेटिएपछि उक्त पानी व्यवस्थापन नहुँदासम्म सडक निर्माण गरे पनि जोगिने अवस्था देखिएन,’ उनले भने, ‘अध्ययन टोलीले नयाँ प्रविधिअनुसार सडक निर्माण गर्न सुझाएपछि सोहीअनुसार डिजाइन बनाएर अहिले काम भइरहेको छ ।’
इन्जिनियर चौलागाईका अनुसार जमिनमुनिको पानी व्यवस्थाप, पर्खाल निर्माण, नाली निर्माण र ग्राभेल सडक निर्माणका लागि डिभिजन कार्यालयले सात करोड ३८ लाख ७९ हजारमा जिएसआई हटैराज ललितपुरलाई ठेक्का दिएको छ ।
‘जमिनमुनिको पानीलाई व्यवस्थापन गर्नका लागि १६ देखि २० मिटर गहिरो पाँच वटा इनारहरू निर्माण गरिएको छ,’ इन्जिनियर चौलागाईले भने, ‘त्यो पानी एकबाट अर्को गर्दै सडक नजिक रहेको पाँचौ इनारमा पुगाइने छ । पाँचौ इनारले उक्त पानीलाई सडकको नालीमा फाल्ने गरी काम भएको छ ।’
इन्जिनियर चौलागाईका अनुसार सडकमाथिको पानी निसासका लागि २ सय वटा पाइप पनि जडान गरिएका छन् । ‘सडकको आठ मिटर तलबाट नयाँ प्रविधिको पर्खाल निर्माणको काम पनि भइरहेको छ,’ उनले भने, ‘काम बैशाख मसान्तमा सम्पन्न गर्ने सम्झौता छ । तर, एक महिना म्याद थप हुने सम्भावना छ ।’
इन्जिनियर चौलागाईका अनुसार सडक कालोपत्रेका लागि भने ठेक्का भएको छैन । अहिलेको ठेक्कामार्फत सडक ग्राभेल मात्रै हुने छ । कालोपत्रेका लागि आगामी आर्थिक वर्षमा ठेक्का आह्वान हुने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने स्तरीय वैकल्पिक सडक नहुँदा भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ । बर्सातको समयमा विभिन्न क्षेत्रमा जाने पहिरोले राजमार्ग अवरुद्व हुँदै आएको छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ । राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३–३३ किलोमिटर पर्छ । अन्य खण्डमा मर्मतको काम भए पनि डडेल्धुरा खण्डमा सडक मर्मत नहुँदा आवतजावतमा समस्या छ ।
राजमार्गको डडेल्धुरा र डोटी खण्ड भने सडक डिभिजन कार्यालय कुलपाते डोटीले हेर्दै आएको छ । कार्यालयका अनुसार सडक मर्मतका लागि यसअघि ठेक्का भएको तर ठेकेदारले काम नगर्दा सडकको अवस्था झन् बिग्रिएको हो । अहिले उक्त ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको छ । राजमार्गको भात्काडादेखि गैरासम्म पाँच करोडमा उच्चाकोटी निर्माण कम्पनीले ठेक्का पाएको छ । यस्तै, डडेल्धुरादेखि भात्काडासम्म दुई करोड रुपैयाँमा रुद्रावतीले ठेक्का पाएको छ । यसबाहेक डडेल्धुरा–बैतडी राजमार्गमा अनारखोली क्षेत्रमा सडक मर्मतका लागि चार करोडमा उमा विल्डर्सले ठेक्का पाएको छ ।
२०१८ सालतिर भीमदत्त राजमार्ग निर्माणको चर्चा सुरु भएकोमा त्यसपछि सडक रेखांकन र ट्र्याक खोल्ने काम भएर २०२९ सालमा पहिलोपटक डडेलधुरामा गाडी पुगेको थियो । २०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम २०५२ सालमा सम्पन्न भएको थियो । कालोपत्रे भएको तीन दशक पुग्नै लाग्दा पनि सडक स्तरोन्नतिको काम भएको छैन । राजमार्ग सुधार र मर्मतका नाममा हरेक वर्ष खाल्डा पुर्ने मात्रै काम हुँदै आएको छ ।
प्रतिक्रिया